श्रेणी : BANNER
काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा वाग्लेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन् ।
उनले नेकपा एमालेसहित रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए । उनले कुनै पार्टीले टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए ।
उनले भने, ‘म पार्टीमा टिकटको आकांक्षी थिएँ, नपाएपछि मलाई नेकपा एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो । काठमाडौं ७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ काँग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईलाई सहयोग गर्छ, तपाई शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो । रवी लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो ।’
उनले युवाहरुसँग घुलमिल हुने कार्यक्रम आफूले शनिवारबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट शुरु गरेको भन्दै यो कार्यक्रम देशभर नै आयोजना गर्ने आफ्नो योजना रहेको बताए । उनले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको टिकटको आकांक्षी भएपनि टिकट नपाएपछि अबको ५ वर्ष मतदाता र युवामाझ आफ्नो सक्रियता बढाउन प्रयोग गर्ने बताए । अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली काँग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखिएको बताए ।
प्रतिक्रिया