
श्रेणी : प्रदेश
काठमाडौं,२५ जेठ । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा ट्यांकरको भरमा खानेपानी लिने अवस्था अब चाँडै अन्त्य हुने बताएका छन्। आइतबार काठमाडौं उपत्यकाका खानेपानी उपभोक्ता समितिहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाबाट अब वर्षभरि नियमित रूपमा पानी आपूर्ति हुने दाबी गरे।
“अब पानीको लागि ट्यांकर कुर्ने दिन गए,” मन्त्री यादवले भने, “मेलम्चीको पानी अब असार महिनामा पनि रोकिँदैन। सरकार नियमित आपूर्ति सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिइरहेको छ।” उनका अनुसार बर्खामा बाढीको जोखिमका कारण मुहानको ढोका मात्रै बन्द हुने भए पनि मेलम्ची सुरुङमार्फत काठमाडौंमा पानी आउनेछ।
मन्त्री यादवले पानीलाई सबै नागरिकको मौलिक अधिकारको रूपमा व्याख्या गर्दै यसको पहुँच सुनिश्चित गर्न मन्त्रालय कटिबद्ध रहेको बताए। “काठमाडौं मात्र होइन, देशका अन्य शहरी क्षेत्रहरूमा पनि सुरक्षित र पर्याप्त पानी आपूर्ति गर्ने योजना अघि बढाइएका छन्,” उनले स्पष्ट पारे।
मन्त्री यादवले हालै जारी गरिएको खानेपानी तथा सरसफाइ नियमावली–२०८१ र आयोगद्वारा सार्वजनिक निर्देशिका–२०८१ अनुसार उपभोक्ता समितिहरूले सेवा र महसुलका प्रस्तावहरू पारदर्शी रूपमा तयार गरी आयोगमा पेश गर्न सक्ने बताए। “महसुल यथार्थपरक र दिगो हुनु जरूरी छ, जसले सेवा गुणस्तर सुधार्न र उपभोक्ताको अधिकार सुनिश्चित गर्न सहयोग पुर्याउँछ,” उनले बताए।
खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी जीवनसँग जोडिएको संवेदनशील विषय भएको बताउँदै, यसको सुनिश्चितताका लागि सबै पक्षको सहकार्य आवश्यक हुने बताइन्। “उपभोक्ता समितिसँग मिलेर हामीले नागरिकलाई सहज रूपमा पानी उपलब्ध गराउने अभियानमा जुट्नुपर्छ,” उनले जोड दिइन्।


प्रतिक्रिया