वीरगन्ज :

काठमाडौंभन्दा वीरगंजमा केरा महँगो : व्यवसायीहरूको मनोपोली, स्थानीय प्रशासन मौन

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.2kViews
1251 Shares

वीरगंज, १२ जेठ – वीरगंजमा केराको मूल्य हिजो बेलुकादेखि ह्वात्तै बढेको छ । मधेशमा विशेष धार्मिक पूर्वक मनाइने वट सावित्री पर्वलाई लक्षित गरी व्यवसायीहरूले केराको दाम मनोमानी रूपमा बढाएको आम उपभोक्ताहरूको आरोप छ ।
तीन दिनभित्रमा आम उपभोक्ताको ढाड सेक्ने गरी वीरगंजमा केराको मूल्य आकाशिएको गुनासो बजार निस्किएका गृहिणीहरूको भनाइ छ । शनिवारसम्म बढीमा १२० रुपैयाँ प्रति दर्जनमा बिक्री भइरहेको केराको मूल्य हप्ताको पहिलो दिन आइतवार ३०० रुपैयाँसम्म पुगेको पुग्याे भने आज सोमवार बिहान पनि केरा प्रति दर्जन २५० रुपैयाँसम्ममा बिक्री वितरणा भएको छ ।

मनोमानी रूपमा फलफूलको दाम व्यवसायीहरूले बढाउनु र स्थानीय प्रशासनको मौनता साध्नुले कतै स्थानीय प्रशासनकै मिलोमतोमा व्यवसायी पोस्ने काम त भएको छैन भन्ने प्रश्न उब्जिएको छ । आइतवार र सोमवार वीरगंजको सिमावर्ती भारतीय बजार रक्सौलमा केरा प्रति दर्जन थोकमा ५५ देखि ६० रुपैयाँ भारुमा बिक्री वितरण भइरहेको छ भने खुद्रामा बढीमा ६५ रुपैयाँदेखि ७० रुपैयाँ भारुमा बिक्री भइरहेको छ । रक्सौल र वीरगंज बजारको मूल्यमा जमिन–आकाशको फरक परेपछि नेपाली उपभोक्ताहरू आक्रोशित भएका छन् ।

पछिल्लो समय वीरगंज निवासी शम्भु गुप्ताले भारी मात्रामा नेपाली बजारका लागि भारतबाट केरा आयात गर्दै आएका छन् । उनले वीरगंज नेशनल मेडिकल कलेज क्षेत्रमा केराको स्टोर तथा पकाउने प्लान्ट पनि सञ्चालन गर्दै आएका छन् । उनकै सक्रियतामा बजारमा सानो तिनो रूपमा काम गर्दै आएका व्यवसायीहरूलाई केही दिनअघि प्रहरीले धरपकड गरेको थियो । त्यसको केही दिनमै केराको मूल्य एकाएक बढ्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

साना व्यापारीहरूका अनुसार स्थानीय प्रशासनले गुप्तालाई पोस्ने काम गरिरहेको कारण बजारमा केराको मूल्य महँगिएको हो । तर नेपाल तरकारी तथा फलफूल थोक व्यवसायी संघ पर्साका अध्यक्ष जगु साहका अनुसार बिहेवारीको समय र मधेशमा मनाइने वट सावित्री पर्व पनि परेको कारण एकाएक केराको माग बढेको र सो अनुपातमा नेपालको आयात नभएको कारण उपभोक्तालाई मार खेप्नु परेको छ । समयमा केरा बिक्री नभए व्यवसायीलाई ठूलो नोक्सानी हुने गरेको कारण जो–कोहिले हतारमा भारी परिमाणमा केरा मगाएर राख्ने अवस्था नभएको उनको भनाइ छ ।

नेपाली बजारमा कृत्रिम रूपमा अभाव सिर्जना गरी बजारमा केराको मूल्य बढाइएको स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ताले डिएसपी किशाेर लम्सालले फरक पर्ने गरी बिक्री वितरण गर्न नपाइने बताउँदै यसको विषयमा सोधपुछ गर्ने बताए । यसरी कालोबजारी गर्नेमाथि कारबाही गर्ने उनले दाबी गरे ।

वीरगंजमा काठमाडौंभन्दा पनि महँगो दाममा केरा बिक्री भइरहेको छ । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमवारका लागि केराको मूल्य १५० रुपैयाँ निर्धारण गरेको छ भने वीरगंजमा भने काठमाडौंभन्दा दोब्बर मूल्यमा केरा बिक्री भइरहेको छ । स्थानीय प्रशासनको भने फितलो अनुगमन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *