विराटनगर, १० फागुन । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० संसद्को हिउँदे अधिवेशनबाट पारित गर्नुपर्ने लगायत मागसहित देशभरका शिक्षकले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
विभिन्न संघ संस्थामा आबद्ध शिक्षकहरू माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलित बनेका हुन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको गत माघ १६ र १७ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार देशैभरिका शिक्षक आन्दोलित छन्।
आन्दोलनका क्रममा यसअघि देशभरका ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाइएको थियो। विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरिएको थियो। शुक्रबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा भेला भएर शिक्षकहरूले आफ्ना मागहरू बारे सरकारको ध्यानाकर्षण गराएका थिए।
सरकारले आफ्ना मागहरू सम्बोधनमा चासो नदेखाएको उनीहरुको गुनासो छ। प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० तत्काल संसद्को हिउँदे अधिवेशनबाट पारित गर्न दबाब स्वरूप आन्दोलन गरिएको नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोखरेलले बताए।
आन्दोलनअन्तर्गत फागुन १५ गते सातै प्रदेशका सामाजिक विकास मन्त्रालय तथा मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइने भएको छ। फागुन २४ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने पोखरेलले बताए ।
प्रतिक्रिया