काठमाडौं, ६ चैत – देशभरका क्याम्पसहरूमा मंगलवार सम्पन्न स्ववियू निर्वाचनको परिणाम आउन सुरू भएको छ। यसै क्रममा, काठमाडौं उपत्यकाका पाँच क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार स्ववियू सभापतिमा विजयी भएका छन्।
जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस बानेश्वर, सानोठिमी क्याम्पस भक्तपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीका स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवारहरूले जित हासिल गरेका छन्।
जनप्रशासन क्याम्पस बल्खुको सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पस भक्तपुरमा नरेन्द्रसिंह ठगुन्ना र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अपार पराजुली निर्वाचित भएका छन्।
यसैगरी, ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियू सचिव पदमा पनि अखिल क्रान्तिकारीका उम्मेदवारहरू विजयी भएका छन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको सचिवमा दिवस सापकोटा र थापाथली इन्जिनियरिङ क्याम्पसको सचिवमा जेसिस उपाध्याय निर्वाचित भएका छन्।
पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन् भने थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका उम्मेदवार प्रह्लाद खड्का निर्वाचित भएका छन्।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजहरूमा चैत ५ गते स्ववियू निर्वाचन भएको थियो। त्रिविसँग ६२ आंगिक क्याम्पसहरूसहित १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन्। केही क्याम्पसहरूमा विभिन्न कारणले चुनाव हुन सकेन।
काठमाडौंका केही प्रमुख क्याम्पसमा निर्वाचन रोकिएको छ। रत्नराज्य क्याम्पसमा तयारी पूरा भइसकेपछि अनेरास्ववियूको तालाबन्दीका कारण मतदान रोकिएको छ।
रत्नराज्य, त्रिचन्द्र, पद्मकन्या, विश्वभाषा, अस्कल, ल, सरस्वती, पब्लिक युथ, शंकरदेव लगायतका क्याम्पसहरूमा निर्वाचन हुन सकेन।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा पनि चुनाव स्थगित भएको छ, जसलाई चैत ८ गतेका लागि सारिएको छ। त्रिवि शिक्षाध्यक्ष खड्ग केसीका अनुसार, स्थगित भएका क्याम्पसहरूमा १५ दिनभित्र निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको छ।
विद्यार्थी संख्याका आधारमा स्ववियू कार्यसमिति गठन हुने व्यवस्था छ। २०० विद्यार्थीसम्म भएका क्याम्पसमा ११ सदस्यीय समिति, २०१ देखि १००० विद्यार्थीसम्म १५ सदस्यीय समिति, १००१ देखि ३००० विद्यार्थीसम्म १९ सदस्यीय समिति, र ३००१ भन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय कार्यसमिति गठन गरिनेछ।
प्रतिक्रिया