
श्रेणी : प्रदेश
काठमाडौँ,१५ माघ । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेको छ। काठमाडौँ उपत्यकाभित्र पहिलोपटक यो सेवा चन्द्रागिरि–१२ बलम्बुबाट सोमबार प्रारम्भ गरिएको हो।
नगरप्रमुख घनश्याम गिरी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गर्दै सेवाको शुभारम्भ गरेका छन्। गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा नगरपालिकाले कार्यपालिका सदस्य तथा १५ वटै वडाका सचिवलाई आवश्यक तालिम उपलब्ध गराएको थियो।
गृहमन्त्रालयका अनुसार पुस मसान्तसम्म देशभरका २८ जिल्लाका दुई हजार वडामा अनलाइन सिफारिस सेवा सुरु भइसकेको छ। यो सेवा पहिलोपटक नवलपरासीको गैँडाकोटबाट २०८० मा प्रारम्भ भएको थियो।
नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै जाने जानकारी दिँदै छिट्टै विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) पनि कार्यान्वयनमा ल्याइने बताए। प्रमुख प्रशासकीय अधिकृत अर्यालले अनलाइन सिफारिसले सेवाग्राहीका विवरणमा हुने अशुद्धि हटाउँदै सहज सेवा प्रवाहमा योगदान गर्ने बताए।
कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठले प्रविधिमैत्री सेवाका लागि सेवाग्राहीलाई पनि प्रविधिसँग अभ्यस्त हुन आग्रह गरिन्। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले चन्द्रागिरि नगरपालिकालाई धन्यवाद दिँदै यो सेवा उपत्यकाका सबै पालिकामा विस्तार गरिने बताए।
गृहमन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीले वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस सेवा उपलब्ध गराइएको जानकारी दिए। वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले यो सेवाले नागरिकता प्राप्ति प्रक्रियामा थप सहजता ल्याएको बताए।
चन्द्रागिरि नगरपालिकाले हाल नक्सापास, राजस्व, र पञ्जीकरणजस्ता सेवाहरू पनि अनलाइनमार्फत उपलब्ध गराउँदै आएको छ। अब नागरिकताको अनलाइन सिफारिस सेवा नगरका सबै वडामा यही हप्तादेखि लागू गरिनेछ।

प्रतिक्रिया