वीरगन्ज :

कांग्रेस संसदमा रचनात्मक भई प्रस्तुत हुन्छः सभापति देउवा

श्रेणी : राजनीति

2 years
birgunj report
123Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।”

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप यसको कार्यान्वयन अनिवार्य शर्त भएको उल्लेख गरे ।

संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको बताउँदै उनले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यसअनुरुपका आवश्यक नीति र कानून बनाउनुपर्ने आवश्यकता औंल्याए ।

“लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ । हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारवाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनु पर्दछ । सबै माननीय साथीमा म हार्दिक अपिल गर्न चाहन्छु कि प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सवलीकरणका लागि विषेश योगदान गर्न सकोस् । हामी सबै यसमा सफल हुन सकौँ”, सभापति देउवाले भने ।

उनले लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनःस्थापना र संरक्षणका लागि जीवन आहुति दिन हुने सम्पूर्ण सहिदमा श्रद्धाञ्जली अर्पण गर्दै देशमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र वर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैप्रति उच्च सम्मान गर्दै प्रशंसा गरे ।

प्रतिनिधिसभामा निर्वाचित भएर आएका सबै सदस्यलाई बधाई दिँदै उनले पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वदा सफल हुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । उनले निर्वाचित गर्ने जनताको भावनाअनुरुप काम गर्न सांसदहरुलाई अनुरोधसमेत गरे ।

सभापति देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिँदै उनको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । साथै उनले मन्त्रिपरिषद्मा नवनियुक्त मन्त्रीहरुलाई बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

सभापति देउवाले भने, “आजभन्दा १८ महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमका बीचमा कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिएँ । तत्कालीन अवस्थामा संविधानको भावनाबमोजिम प्रतिनिधिसभालाई पूर्ण कार्यकाल कार्यसम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा सम्पन्न गरी देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो ।”

यस कार्यमा तमाम चुनौती र कठिनाइ थिए तापनि प्रतिनिधिसभा पूर्ण कार्यकाल कायम रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहको निर्वाचन समयमा सम्पन्न भएको र पछिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज प्रतिनिधिसभाको पहिलो बैठकमा बसी रहँदा आफूलार्ई हर्ष एवं गौरवको अनुभूति भएको बताए ।

आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको बताउँदै सभापति देउवाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गर्दै धन्यवाद दिए ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । उनले कांग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्ने देशभित्र र बाहिर रहेका सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले भने, “म सम्पूर्ण दाजुभाई, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईंले दिनुभएको विश्वासमा ठेस लाग्न दिने छैनौँ । कांग्रेस जनताको अपेक्षा र पार्टीका साथीको भावनाअनुसार काम गर्नेछ । हाम्रो असङ्ख्य सहिदको त्याग, तपस्या र बलिदानबाट हामीले प्रेरणा पाएका छौँ ।”

उनले सहिदको बलिदान, नेताहरुको प्रेरणा र मार्गनिर्देश र साथीहरुको परिश्रम खेर जान नदिईने विश्वास दिलाउँदै सभापति देउवाले नेपालको संविधानको रक्षा र कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सवलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्ने लक्ष्यमा अविचलितरुपले लागिरहने प्रतिबद्धता व्यक्त गरे । देश र जनताको बृहत्तर हितमा काम गर्ने उल्लेख गर्दै उनले यो प्रतिनिधिसभामा कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुने र जनताका जीवनसँग जोडिएका विषयमा विषेश ध्यान दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *