श्रेणी : BANNER
काठमाडौं,०८ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान कांग्रेस–एमाले सरकारलाई संविधानविपरीत र अवैध काममा लिप्त भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गठन नै अवैध र अपारदर्शी भएको भन्दै यसको गतिविधिहरुले देशमा राजनीतिक अराजकता मच्चाएको दाबी गरे।
आजपाको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै अध्यक्ष साहले संविधानले मान्यता नदिएको राजनीतिक संयन्त्र सक्रिय पारेर सरकारले आतंक सिर्जना गरेको आरोप लगाए। “संविधान संशोधनको नाटक गरेर संविधान र संसदले नचिनेको संयन्त्रलाई राज्यसत्ता सञ्चालनमा ल्याउनु अराजकताको चरम रूप हो,” उनले भने।
अध्यक्ष साहले सरकारलाई भूमिसम्बन्धी अध्यादेशमार्फत भूमाफिया र दलालको स्वार्थ पूरा गर्न लागेको आरोप लगाए। उनले भने, “संसद छलेर ल्याइएको अध्यादेशलाई स्वार्थ समूहका नेताहरुले स्वागत गर्नुले पनि यो सरकारको वास्तविक उद्देश्य प्रस्ट हुन्छ।”
अध्यक्ष साहले वर्तमान सरकारलाई अप्रजातान्त्रिक, अप्राकृतिक, र अनैतिक भन्दै यसको गठन र गतिविधि जनविरोधी रहेको बताए। “दुई तिहाइको समर्थन पाएको सरकारले जनतामाझ जान पनि आँट गरेको छैन। यसको काम दलाल र बिचौलियाको सेवा गर्नु मात्रै हो,” उनले भने।
साहले संविधानविपरीतका गतिविधि र जनताको आवाज दबाउने अभ्यास तत्काल रोक्न सरकारलाई चेतावनी दिए। “सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्नु लोकतन्त्रविरोधी अभ्यास हो, र यसको कडा विरोध हुनेछ,” उनले भने।
अध्यक्ष साहले वर्तमान सरकारको नीतिगत र कार्यगत त्रुटिले देशलाई पछि धकेल्दै लगेको भन्दै यसलाई विस्थापित गर्नुपर्ने धारणा राखे। “यो सरकार दलालहरुको प्रतिनिधि मात्र हो। यो जनताको हितका लागि होइन, सत्ता स्वार्थका लागि खडा गरिएको हो,” उनले निष्कर्षमा भने।
प्रतिक्रिया