वीरगन्ज :

कांग्रेसलाई एक्लै चुनाव जित्न सक्षम बनाउने नेतृत्वको आवश्यकता: शेखर कोइराला

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.7kViews
1936 Shares

काठमाडौं,१३ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई आगामी निर्वाचनमा एक्लै चुनाव लड्न सक्षम बनाउनु पर्नेमा जोड दिएका छन्। धनुषामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले पार्टीको वर्तमान स्थिति सुधार्न सबै नेता-कार्यकर्ताले योगदान दिनुपर्ने बताए।

उनका अनुसार, कांग्रेस अहिले विभिन्न आन्तरिक समस्याका कारण कमजोर देखिएको छ। उनले भने, “धनुषा कांग्रेसको बलियो गढ भए पनि हामी अहिले आफ्नै कमजोरीले अलमलमा परेका छौं। अब हामी सबै मिलेर पार्टीलाई पुरानै अवस्थामा फर्काउनुपर्नेछ। मलाई विश्वास छ, तपाईंहरूको साथ र समर्थनले यो सम्भव हुनेछ।”

कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसमा ढिलाइ भए समस्या थप गहिरिने चेतावनी दिए। “थोरै ढिलाइले खासै फरक नपर्ला, तर धेरै समयसम्म महाधिवेशन नगरे पार्टीलाई अप्ठ्यारो पर्न सक्छ,” उनले भने।

आगामी निर्वाचनमा पार्टीले कसैसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने धारणा राख्दै उनले त्यसका लागि आवश्यक संगठनात्मक सुधारमा लाग्न नेता-कार्यकर्तालाई आह्वान गरे। “गठबन्धनमा निर्भर पार्टी होइन, एक्लै जित्न सक्ने पार्टी निर्माण गर्न अहिलेबाटै काम गर्नुपर्छ,” कोइरालाले भने।

कार्यक्रममा कोइरालाले पार्टीभित्रको आन्तरिक एकता र सशक्त संगठन निर्माण नै कांग्रेसको प्राथमिकता हुनुपर्ने बताए। “पार्टीको इतिहासलाई स्मरण गर्दै हामीले कांग्रेसलाई जनताको पहिलो रोजाइ बनाउने प्रयास गर्नुपर्छ,” उनले थपे।

यो विचारसँगै, कोइरालाले कांग्रेसलाई सशक्त बनाउने र आगामी चुनावमा पार्टीको नेतृत्वलाई बलियो बनाउने उद्देश्यसहित सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *