वीरगन्ज,१५ पुस । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा जिल्लामा नेपाली काँग्रेसको आन्तरिक चुनावी प्रतिस्पर्धा चर्किएको छ। देशकै प्रमुख राजनीतिक दल काँग्रेसले पर्साका चार निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रिया तीव्र पारेको छ। पर्सा–१ देखि ४ सम्म पार्टीभित्र टिकटको दाबीमा पुराना र नयाँ दावेदारबीच रोचक भिडन्त हुने देखिएको छ।
पर्सा क्षेत्र नं. १ मा संविधानसभा सदस्य तथा केन्द्रीय सदस्य अनिल रुंगटा प्रमुख उम्मेदवारका रूपमा चर्चामा छन्। तर कारबाही फुकुवा भएका अजय द्विवेदीले पनि टिकट दाबीमा काठमाडौँमा सक्रिय रहेको स्रोतले जनाएको छ।
पर्सा क्षेत्र नं. २ मा अजय चौरसिया र राजेन्द्र बहादुर अमात्य बीच मुख्य प्रतिस्पर्धा चलिरहेको छ। स्रोतका अनुसार केन्द्रीय नेतृत्व चौरसियातर्फ झुकाव राख्दै अमात्यलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्ने रणनीति बनाइरहेको छ।
पर्सा क्षेत्र नं. ३ मा नयाँ अनुहारलाई प्राथमिकता दिने तयारी छ। ‘जेन–जी आन्दोलन’को पृष्ठभूमि भएका युवा उम्मेदवारलाई प्राथमिकता दिँदै पुराना नेताहरूलाई सम्मान गर्दै सन्तुलन मिलाउने योजना बनाइएको स्रोतले दाबी गरेको छ। पर्सा क्षेत्र नं. ४ मा पार्टीले रमेश रिजाललाई निरन्तर उम्मेदवार बनाउने सम्भावना बलियो देखिन्छ। रिजाल विगत ४० वर्षदेखि यस क्षेत्रबाट सांसद र मन्त्री भइसकेका छन्, त्यसैले यहाँ प्रतिस्पर्धा कम चर्किने अनुमान गरिएको छ।
विश्लेषकहरूका अनुसार युवा मतदाताको भूमिका निर्णायक बन्ने भएकाले काँग्रेसले नयाँ अनुहारलाई प्राथमिकता दिँदै मधेस केन्द्रित मत सुनिश्चित गर्ने प्रयास गर्दैछ। तर पुराना नेताहरूको असन्तुष्टि र कारबाही फुकुवापछि थपिएका दावेदारले टिकट वितरणलाई जटिल बनाउने जोखिम छ।
निर्वाचन नजिकिँदै गर्दा पर्सामा काँग्रेसभित्रको यो आन्तरिक प्रतिस्पर्धा अझ चर्कने निश्चित देखिन्छ। पार्टीले सङ्गठनलाई मजबुत बनाई एकताबद्ध रूपमा मैदानमा उत्रिनु आवश्यक छ।

प्रतिक्रिया