
श्रेणी : मधेस
बीरगन्ज,१८ साउन । बाराको कलैया प्रादेशिक अस्पतालमा फैलिएको चरम फोहोर, दुर्गन्ध र अव्यवस्थाप्रति सामाजिक अभियन्ता आशिका तामाङले आक्रोश पोख्दै अस्पताल व्यवस्थापनसँग कडा जवाफ माग गरेकी छन्।
सार्वजनिक भएको भिडिओमा उनले अस्पतालका अध्यक्ष प्रकाश चौगाइलाई सिधा प्रश्न गर्दै अस्पतालको दयनीय अवस्थाबारे कडा आलोचना गरेकी हुन्।
तामाङले अस्पतालमा शौचालय अत्यन्तै फोहोरी, धारामा पानी नआउने, जताततै फोहोर र दुर्गन्ध फैलिएको भन्दै अध्यक्ष चौगाईलाई अस्पतालमै प्रयोग गर्नुपर्ने शौचालयमा पठाउने चुनौती दिइन्।
जब अध्यक्षले सरसफाइको जिम्मेवारी अन्य कर्मचारीतर्फ ढल्काउन खोजे, उनले भने, “त्यो लेडिज टॉयलेट हो” भनेर पन्छिन खोजेपछि तामाङले उल्टै जवाफ दिइन्“व्यवस्थापन गर्नु तपाईंको काम होइन?”
अध्यक्षले बारम्बार तामाङमाथि ‘एक्टिङ गरिरहेकी हो’ भनी आरोप लगाए पनि उनले ती आरोपलाई खारेज गर्दै भनिन्“यो एक्टिङ होइन, बिरामीको जीवनको कुरा हो।”
उनले अस्पतालमा सरसफाइको अभावले बिरामीहरू रोगको जोखिममा परेको, केहीको ज्यानसमेत गएको आशंका गर्दै तत्काल सुधारको माग गरिन्।
भिडिओले सामाजिक सञ्जालमा व्यापक ध्यान खिचेको छ, जहाँ धेरैले अस्पताल प्रशासनको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन्।


प्रतिक्रिया