
श्रेणी : प्रदेश
काठमाडौं,०९ भदौ । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चौथो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र जनताको आधारभूत अधिकार सुनिश्चित गर्ने संकल्प व्यक्त गरेको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार शुभकामना सन्देश जारी गर्दै नेपालको कम्युनिस्ट आन्दोलनको मूल लक्ष्य समाजवादको स्थापना रहेको दोहोर्याए। उनले श्रमिक, किसान, दलित, महिला र उत्पीडित समुदायको मुक्ति र वर्गविहीन समाज निर्माण पार्टीको दीर्घकालीन लक्ष्य भएको उल्लेख गरे।
नेपालले आफ्नो सन्देशमा पार्टी गठनको उद्देश्य स्पष्ट पार्दै भने,“नेकपा (एकीकृत समाजवादी)को स्थापना कम्युनिस्ट आन्दोलनभित्र देखिएका व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिता र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्धको विद्रोह हो। पार्टीले आन्दोलनलाई शुद्धीकरण, एकीकरण र सशक्तिकरण गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको छ।”
यद्यपि उनले नेपाली कम्युनिस्ट आन्दोलनमा अझै पनि धेरै विकृति र विसङ्गति रहेको स्वीकार गर्दै नेतादेखि कार्यकर्ता र आम जनतालाई सचेत रहँदै आन्दोलनलाई थप प्रगतिशील र जनमुखी बनाउने आह्वान गरे।
नेपालले भारत र चीनबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसम्बन्धी भएको भनिएको समझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि सरकार र सबै सरोकारवालालाई सक्रिय हुन आग्रह गरे।


प्रतिक्रिया