
श्रेणी : प्रदेश
काठमाडौं,२० जेठ । खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले इलामको कन्याम–पञ्चकन्या खानेपानी योजना समयमै सम्पन्न नभए कडा कदम चालिने चेतावनी दिएका छन्। आयोजना स्थलमै आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा मन्त्री यादवले निर्माणको काम ढिलो गरिने हो भने ठेक्का नै रद्द गरिने स्पष्ट पारे।
उनले खानेपानी जस्तो अत्यावश्यक सेवामा लापरवाही कदापि सह्य नहुने भन्दै ठेकेदार कम्पनीलाई अब बाँकी रहेको काम तत्काल सम्पन्न गर्न निर्देशन दिए। मन्त्री यादवका अनुसार हालसम्म योजनाको ७७ प्रतिशत काम पूरा भइसकेको छ भने बाँकी काम समयमा सम्पन्न गर्न कुनै बहाना स्वीकार्य हुने छैन।
‘अब बहाना होइन, काम चाहिन्छ’
“कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु। आज नै समाधानको बाटो निकालिन्छ,” मन्त्री यादवले भने, “या त ठेकेदारले काम तत्काल अघि बढाउनुपर्छ, नत्र ठेक्का रद्द गरेर वैकल्पिक व्यवस्था गरिन्छ।”
कार्यक्रममा मन्त्री यादवले निर्माण व्यवसायीहरू बारम्बार विभिन्न बहाना बनाएर काम ढिलो गर्ने प्रवृत्ति दोहोर्याइरहेको उल्लेख गर्दै भने, “अब यस्तो व्यवहारलाई उन्मुक्ति दिइँदैन। सरकारले दिएको म्यादभित्र काम नगर्ने ठेकेदारमाथि कारबाही अनिवार्य हुनेछ।”
मन्त्रीले स्थानीय बासिन्दालाई छिटोभन्दा छिटो शुद्ध, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउन सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गरे। “योजना निर्माणमा ढिलासुस्ती जनताको अधिकारमाथिको खेलवाड हो,” उनले दोहोर्याए।


प्रतिक्रिया