उदयपुर,०३ चैत । साेमबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारी क्षेत्रमा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिक रहेको टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको तीव्र हावाले सुकेको सालको रुख ढाल्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सोही घटनामा रुखले किचेर पाँच जना घाइते भएका छन्।
घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीलाबहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएकी ४ वर्षीया बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।
यसैबीच कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाहुरीका कारण भाँचिएको रुखको हाँगाले लाग्दा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याइए पनि चिकित्सकले राति ९ः१० बजे मृत घोषणा गरेका थिए।
घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया