
श्रेणी : मधेस
रौतहट,१३ पुस । कटहरिया नगरपालिकामा मेयरबाट करोडौं अनियमितता गर्ने खेल सुरुभएको भन्दै जनप्रतिनिधिहरूले गरेको तालाबन्दी आज पाँचौँ दिन पनि यथावत् छ।
उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरूले गत मंगलवार दिउँसो कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका थिए । जनप्रतिनिधिहरूले मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसँगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका थिए।
मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका थिए। लगातार ४ दिनसम्म नगरको कार्यालय बन्द हुँदा दर्जनौँ सेवाग्राही कठिनाइमा परेका छन्। तालाबन्दी खुलाउन अथवा असन्तुष्ट पक्षसँग वार्ताका लागि मेयर जैसवालले कुनै वास्ता नगरेको उपमेयर रिता देवी यादवले गुनासो गरेकी छिन्।
मेयर जैसवालको इसारामा गत मङ्सिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले दर्जनौँ निर्णय लेखेर कार्यपालिका सदस्यहरूको घर घरमा घुमाएर हस्ताक्षर गराउने खेल भइरहेको कारण तालाबन्दी गरिएको उपमेयर यादवले जानकारी दिएकी छिन्।
हस्ताक्षर गराउन मेयर जैसवालले केही कार्यपालिका सदस्यहरूलाई विभिन्न प्रलोभन देखाई रहेको उनीहरूले दाबी गरेका छन्। कटहरियाको ९ वटै वडामा खटिरहेका झन्डै ५० जना करारका कर्मचारीहरूको बक्यौता २० महिनासम्मको तलब भुक्तानीपछि मात्र अर्को भर्ना खुलाउनु पर्ने, गत मङ्सिर २० गतेको बैठकको निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरू बदर गरिनुपर्ने माग अघि सारिएको छ।


प्रतिक्रिया