बीरगन्ज,१४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा शनिबार बीरगन्जमा एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।
अध्यक्ष ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै उनीहरूले तत्काल रिहाइको मागसहित विरोध प्रदर्शन गरेका हुन्। पर्साको सदरमुकाम बीरगन्जस्थित मुख्य घण्टाघर चोकमा भेलाभएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्का नाराजुलुस गरेका थिए।
सहभागीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘अध्यक्ष ओलीलाई विना सर्त रिहा गर’ जस्ता नारासहित प्रदर्शन अघि बढाएका थिए। विरोध कार्यक्रममा नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष विश्वमबर शर्मा, नेता बिचारी यादव, जालिम मिया, लियाकत अलीसहित पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले सरकारले पूर्वाग्रहपूर्ण ढंगले विपक्षी नेतामाथि दमन गरेको आरोप लगाउँदै लोकतान्त्रिक मूल्य–मान्यतामाथि आक्रमण भएको बताएका थिए।
उनीहरूले आवश्यक परे आन्दोलनलाई अझ सशक्त रूप दिनका लागि तयार रहेको चेतावनी पनि दिए। अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो, जसपछि देशभर एमाले कार्यकर्ताहरूले विरोध कार्यक्रम तीव्र बनाइरहेका छन्।

प्रतिक्रिया