वीरगन्ज :

ओमप्रकाश सर्राफको पक्षमा मधेश सरकारका मन्त्रीको खुला समर्थन

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.1kViews
1863 Shares

वीरगंज (पर्सा), ७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को राजनीतिक माहोल तीव्र बन्दै गएको छ। मतदातालाई आकर्षित गर्न दलहरू घरदैलो अभियानमा व्यस्त भइरहेका बेला जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफको पक्षमा मधेश प्रदेश सरकारका मन्त्री स्वयं मैदानमा उत्रिएका छन्।
जनमत पार्टीको चुनावी अभियानलाई थप धार दिन मधेश प्रदेशका मन्त्री दशरथ कुशवाहा सक्रिय रूपमा प्रचारमा खटिएका हुन्। उनले विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सर्राफलाई भारी मतका साथ विजयी गराउन अपिल गरिरहेका छन्। मन्त्री कुशवाहाले जनमत पार्टीको राजनीतिक एजेन्डा मधेशको पहिचान, अधिकार, सुशासन र आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै पर्सा–१ मा परिवर्तनकारी नेतृत्व अपरिहार्य भएको धारणा राखे।
युवा उम्मेदवार सर्राफ स्पष्ट योजना र ठोस दृष्टिकोणसहित चुनावी मैदानमा देखिएका छन्। उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवामा सुधारलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्। विशेषगरी युवामाझ उनको लोकप्रियता तीव्र गतिमा बढ्दै गएको स्थानीय स्रोतहरूको भनाइ छ।
पर्सा–१ मा जनमत पार्टीप्रति मतदाताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको दाबी पार्टी कार्यकर्ताहरूले गरेका छन्। घरदैलो अभियान, युवाकेन्द्रित सभा, टोलस्तरीय भेला र रात्रीसभामार्फत सर्राफले चुनावी वातावरण आफ्नो पक्षमा मोड्न सफल भएको स्थानीय विश्लेषकहरूको आँकलन छ। पछिल्ला दिनमा उनी प्रतिस्पर्धाको अग्रपंक्तितर्फ उन्मुख हुँदै गएको चर्चा पनि सुरु भएको छ।
यसैबीच, जनमत पार्टीको आयोजनामा वीरगंज महानगरपालिका–४ विर्ता क्षेत्रमा सम्पन्न घरदैलो कार्यक्रम उल्लेखनीय सहभागितासहित सम्पन्न भएको छ। कार्यक्रममा उम्मेदवार सर्राफले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। उनले जनताबाट प्राप्त सुझाव र गुनासालाई आफ्नो राजनीतिक प्रतिबद्धताको केन्द्रमा राख्ने आश्वासन दिए।
घरदैलोका क्रममा मन्त्री कुशवाहासहित जनमत पार्टीका स्थानीय नेताहरूले संघीय संसद्मा सशक्त आवाज उठाउन सक्ने, ऊर्जाशील र जनउत्तरदायी नेतृत्वको आवश्यकता दोहोर्‍याए। उनीहरूले पर्सा–१ को समग्र विकास, पारदर्शी शासन र दीर्घकालीन स्थायित्वका लागि सर्राफ उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–१ मा चुनावी सरगर्मी थप चुलिँदै गएको छ। दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा मतदाता पनि आफ्ना मुद्दा र अपेक्षा स्पष्ट रूपमा अघि सार्न थालेका छन्। यस्तो अवस्थामा सर्राफको एजेन्डा, मन्त्रीस्तरको खुला समर्थन र सक्रिय चुनावी अभियानले पर्सा–१ को चुनावी समीकरणमा निर्णायक प्रभाव पार्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *