वीरगन्ज :

एसईई परीक्षामा डिजिटल ‘चिट’को नयाँ तरिका: वाट्सएप र म्यासेन्जरबाट प्रश्न–उत्तर आदानप्रदान, परीक्षा प्रशासन चिन्तित

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.9kViews
1770 Shares

जनकपुर,२४ चैत । एसईई परीक्षामा नक्कली प्रवृत्तिले नयाँ रूप लिएको पाइएको छ। परम्परागत ‘चिट’ प्रणालीलाई छाड्दै अब मोबाइल एप्समार्फत प्रश्न र उत्तर आदानप्रदान गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ।

जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थी र गार्डको संलग्नतामा परीक्षा हलबाटै प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाउने गरिएको छ। ती प्रश्नहरू केन्द्रबाहिर रहेका शिक्षक तथा अभिभावकसम्म वाट्सएप, भाइबर र म्यासेन्जरमार्फत पुर्‍याइन्छन्। त्यसपछि तयार पारिएको उत्तर पुनः सोही माध्यमबाट परीक्षार्थीसम्म पठाइने गरेको खुलेको छ।

एक शिक्षकका अनुसार एसईईको पहिलो दिनदेखि नै सिराहाका गोलबजार, मिर्चैया, लहान, जमदह, चोहर्वा र सदरमुकाम क्षेत्रका केन्द्रहरूमा यस्तो गतिविधि देखिएको हो। डिजिटल माध्यमको दुरुपयोग गर्दै संगठित रूपमा नक्कल गराउने प्रयास भइरहेको उनको भनाइ छ।

यस वर्ष सिराहामा ५१ वटा परीक्षा केन्द्र तोकिएका छन्, जहाँ कुल ११ हजार ३७ विद्यार्थी सहभागी छन्। तीमध्ये १० हजार ६२५ जना साधारणतर्फ र ४१२ जना प्राविधिकतर्फका विद्यार्थी रहेका छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र सहभागी छन्।

परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउने यस्तो गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकायले कडा अनुगमन र प्रविधिमैत्री निगरानी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *