वीरगन्ज :

एसईई परीक्षाको नतिजामा गम्भीर त्रुटि, सयौं विद्यार्थीको भविष्य प्रभावित

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.0kViews
1948 Shares

काठमाडौं,२९ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत महिना सार्वजनिक गरेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा गम्भीर त्रुटि भएको खुलासा भएको छ।

नतिजामा चित्त नबुझेका २७ हजार ३१५ परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएपछि भएको छानबिनमा ठूलो संख्यामा अंक परिमार्जन गर्नुपर्ने अवस्था आएको हो। मंगलबारसम्म पुनर्योगको परिणाम अनुसार २७ हजार ८ जनाको नतिजा सार्वजनिक हुँदा ८६० जनाको ग्रेडमा परिवर्तन भएको छ। तीमध्ये २६७ जना अनुत्तीर्ण विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार अझै ३०७ जनाको पुनर्योगको नतिजा आउन बाँकी छ, जसपछि उत्तीर्ण हुनेको संख्या थप बढ्न सक्ने अनुमान छ। उनले उत्तरपुस्तिका परीक्षण, अंक पोस्टिङ, तथ्यांक इन्ट्री र मार्किङमा देखिएको लापरबाही नै त्रुटिको कारण भएको बताए।

चार लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये ६१.८१ प्रतिशत अर्थात् २ लाख ७१ हजार २९९ जना मात्र उत्तीर्ण भएका थिए। एक लाख ६७ हजार ५९७ विद्यार्थी अनुत्तीर्ण भएका थिए। पुनर्योगका लागि प्रतिविषय ५०० रुपैयाँ शुल्क लाग्ने भएकाले सबै विद्यार्थीले आवेदन दिन नसकेको बोर्डले जनाएको छ।

विद्यार्थीले पुनर्योगपछि पनि चित्त नबुझे उत्तरपुस्तिका हेर्न (१५०० रुपैयाँ) र विज्ञमार्फत पुनः परीक्षण गराउन (२००० रुपैयाँ) सक्ने व्यवस्था छ।

पूरक परीक्षा सुरु
यसैबीच, आजदेखि सुरु भएको पूरक परीक्षामा १ लाख ४२ हजार ८५३ विद्यार्थी सहभागी भएका छन्। देशभरका ४६९ परीक्षा केन्द्रमा सञ्चालन भइरहेको पूरक परीक्षा भदौ ६ गतेसम्म चल्नेछ।

सबैभन्दा बढी परीक्षार्थी अनिवार्य गणितमा छन् १ लाख ७६ हजार १७० जना। त्यसपछि सामाजिक शिक्षा(१ लाख १६ हजार ५५, अंग्रेजी १ लाख १४ हजार ६६८, अनिवार्य विज्ञान तथा प्रविधि १ लाख ७ हजार ९१८ र नेपाली ७४ हजार ८५० मा विद्यार्थी सहभागी छन्।

अधिकारीका अनुसार गणित, अंग्रेजी, सामाजिक र विज्ञानमा विगतदेखि नै बढी विद्यार्थी फेल हुँदै आएका छन्। पूरक परीक्षाबाट पास हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा ११ पढ्न पाउनेछन्, र सातै विषयमा फेल भएकाले समेत परीक्षा दिन सक्ने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *