
श्रेणी : मधेस
बीरगन्ज,०२ साउन । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल(प्याब्सन) बीरगन्ज र पर्साले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि “प्याब्सन छात्रवृत्ति कार्यक्रम” को घोषणा गरेको छ ।
कार्यक्रमअन्तर्गत २८ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिसहित विभिन्न पुरस्कार प्रदान गरिनेछ ।
शुक्रवार वीरगञ्जस्थित एपेक्स म्यानेजमेन्ट कलेजमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन बीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवले कार्यक्रमको उद्देश्य शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्न, विशेषगरी आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई उच्च माध्यमिक शिक्षामा अवसर प्रदान गर्न र पारदर्शी रूपमा छात्रवृत्ति वितरण गर्न केन्द्रित रहेको बताए ।
छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीले प्याब्सन बीरगन्जद्वारा आयोजित प्रवेश परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षा यस वर्षको एसइई सहभागी भएका सबै विद्यार्थीका लागि खुला छ । अध्यक्ष श्रीवास्तवका अनुसार, प्याब्सनआबद्ध विद्यालय, अन्य सङ्गठनका विद्यालय र सामुदायिक विद्यालयका विद्यार्थीहरूले समेत परीक्षामा भाग लिन सक्नेछन् । नन–ग्रेड (एनजी) ल्याएका विद्यार्थीहरू पनि सहभागी हुन पाउनेछन् ।
प्याब्सन बीरगन्जका सचिव अमित आलोकका अनुसार कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र उच्च शिक्षामा पहुँच सुनिश्चित गर्ने अवसर प्रदान गर्नेछ । परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने २८ विद्यार्थीले प्याब्सनअन्तर्गतका १० वटा प्लस टु सञ्चालन गर्ने विद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । आलोकका अनुसार, प्रत्येक विद्यालयले कम्तीमा दुई विद्यार्थीलाई छात्रवृत्ति दिनेछ ।
छात्रवृत्ति परीक्षाको फारम भर्ने अन्तिम मिति साउन ६ गतेसम्म तोकिएको छ । प्रवेश पत्र साउन ८ गते वितरण गरिनेछ र परीक्षा साउन १० गते प्याब्सनअन्तर्गतका १० वटा विद्यालयमा सञ्चालन हुनेछ । फारम प्याब्सन बीरगन्जको आधिकारिक फेसबुक पेजमार्फत अनलाइन भर्न सकिनेछ ।
परीक्षामा प्रथम हुने विद्यार्थीले ल्यापटप र दुई वर्षको पूर्ण छात्रवृत्ति, दोस्रो हुनेले ट्याब र पूर्ण छात्रवृत्ति, र तेस्रो हुनेले पोसाकसहित पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्ने २८ विद्यार्थीले आफ्नो रुचिअनुसार विद्यालय छनोट गर्न सक्नेछन्, तर कुनै विद्यालयको दुई वटा छात्रवृत्ति कोटा पूरा भएपछि अन्य विद्यार्थीले त्यो विद्यालय छनोट गर्न पाउने छैनन् ।
कुल २८ वटा छात्रवृत्ति रहेकोमा म्यास्कट एकेडेमीले दुई, ज्ञानदा एकेडेमीले दुई, मिनिल्याण्ड सेकेण्डरी स्कुलले पाँच, वीरगञ्ज इङ्ग्लिस पब्लिक स्कुलले दुई, ओम नेशनल एकेडेमीले दुई, वीरगञ्ज पब्लिक कलेजले दुई, सनलाइट सेकेण्डरी स्कुलले दुई, हिमालयन पिरामिड्सले पाँच, बीरगन्ज कलेज प्रालिले चार र सिद्धार्थ नेशनल स्कुलले दुई वटा छात्रवृत्ति प्रदान गर्ने छन् ।
परीक्षामा उत्कृष्ट २८ मा नपरे पनि राम्रो अङ्क ल्याउने विद्यार्थीले साइन्स स्ट्रिममा १५ हजार र म्यानेजमेन्ट स्ट्रिममा ५ हजार रुपैयाँ छुट पाउनेछन्, र छात्राहरूलाई थप २ हजार रुपैयाँ छुट प्राप्त हुनेछ ।


प्रतिक्रिया