
श्रेणी : समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नेकपा एमालेलाई सिध्याउन निकै प्रयास भए पनि यसको गौरवपूर्ण इतिहास, बलियो संगठन र जनताको मायाका कारण त्यो दुष्प्रयास सफल नभएको बताएका छन् । अध्यक्ष ओलीले एमालेलाई भित्तामा पुर्याउँछौं, दिउँसै टर्च बालेर खोज्ने गरी सिध्याउँछौं भन्नेहरूको चाहना पूरा हुन नसकेको बताए ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को धरानमा शुक्रबार आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हुँडारको शैलीमा एमालेलाई चारैतिरबाट आक्रमण गरेर सिध्याउन खोज्नेहरू त्यसमा असफल भए । बाघ, भालुलगायत हिंश्रक जनावरले पहिले मार्छन्, अनिमात्र खान्छन् तर हुँडारको जत्थाले शिकार गर्दा चारैतिरबाट ज्यूँदै टोकेर खाने गर्छ । गठबन्धन त्यसैगरी एमालेलाई टोकेर सिध्याउन खोज्ने हुँडारको जत्था हो ।’
नेपालको बामपन्थी आन्दोलनलाई अत्यन्त बलियो बनाउने कदमका रुपमा आफूले माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेको स्मरण गर्दै अध्यक्ष ओलीले विदेशीका लागि कम्फर्टेवल सरकार बनाइदिने नीति, उद्देश्य बोकेका व्यक्तिहरुका कारण त्यो कदम सफल नभएको स्पष्ट पारे ।
उनले भने, ‘जङ्गलमा एउटा स्याल कराउँदा वित्तिकै सुनेपछि अर्को स्याल जतिसुकै अफ्ठ्यारो अवस्थामा भए पनि कराउँछ । त्यसैगरी पार्टीभित्र ठाडो घाँटी लगाएर कराउनेको जमात निस्क्यो । मलाई अल्पमतमा छ भन्ने ठान्यो र पार्टी कब्जा गर्नुपर्छ भनेर लाग्यो । विभिन्न आरोप लगायो । महाधिवेशनबाट अध्यक्ष निर्वाचित मलाई सडकबाट नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशनको निर्णय सुनाए । यो सबै पार्टी सिध्याउने दक्षिणपन्थी प्रतिक्रियावादी षडयन्त्र भएको छ । नेपालको सम्पूर्ण राजनीतिक जागरणसँग जोडिएको एमालेलाई कसैले समाप्त पार्न सक्दैनन् ।’
नेकपा एमाले वैचारिक, सांगठानिक, राजनीतिक परिवर्तनका लागि गरेको सङ्घर्ष सबै हिसावले राष्ट्रिय राजनीतिको सदैव मूलधार भएको भन्दै ओलीले भने– ‘एमालेलाई भत्काउने प्रयासमा जो–जो लागे उनीहरूले गल्ती गरे ।’ अध्यक्ष ओलीले एमालेलाई सिद्धयाउन खोज्नेहरू मंसिर ४ पछि आफै सिद्धिने बताए । एमाले बाहेक अरु पार्टीसँग देश बनाउने भिजन नभएको भन्दै उनले नेपाली काँग्रेसले एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन गरेको बताए ।
धरानवासीलाई एमालेले कोशीको पानी खुवाउने छ
उनले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीन वटा अवसरहरु रहेको बताए । उनले कोशी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने बताए ।
‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, त्यसका लागि एमालेको सरकार चाहिन्छ,’ अध्यक्ष ओलीले भने, ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरु गर्ने छौं, काम सुरु गर्ने छौं, स्थायी ढङ्गले पानीको समस्या समाधान गर्छौं, छेउमै कोशी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’
कार्यक्रममा सुनसरी क्षेत्र नम्वर– १ का एमाले र जसपाका साझा उम्मेदवार अशोक राईले जसपा एमाले समीकरण दुईचार थान नेता बनाउन नभई देश बनाउन भएको बताए ।

प्रतिक्रिया