
श्रेणी : प्रदेश
काठमाडौँ, २१ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउँदै पार्टीको एकता र मजबुतीका लागि विरोधीका झुटा प्रचारको खण्डन गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई बदनाम गर्न र लोकप्रियता घटाउन विभिन्न विरोधी शक्तिहरु सक्रिय भएको दाबी गरे। उनले भने, “हामी चुप लागेर बस्न सक्दैनौं। विरोधीका आरोपको तथ्यका आधारमा खण्डन गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्न र पार्टीलाई एकजुट राख्न आवश्यक कदम चाल्ने आह्वान पनि गरे। उनले लोकतन्त्रको नाममा गुटबन्दी गरेर पार्टीलाई कमजोर पार्न खोज्ने प्रयासहरूलाई अस्वीकार गर्दै भने, “हामी सबैलाई एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर अगाडि बढ्न सक्नुपर्छ ।”
उनले पार्टीका आन्तरिक विषयहरूलाई सार्वजनिक नबनाउन आग्रह गर्दै, केही नेताहरुले पार्टीको विभाजनको कुरा गर्दा अहिले आफूलाई गल्ती महसुस भएको टिप्पणी गरे।
बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्, जसमा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धनको आवश्यकता, उपनिर्वाचनको समीक्षा, र राष्ट्रिय शक्तिको निर्माण जस्ता प्रमुख विषयहरूलाई समेटिएको छ।
साथै, बैठकमा प्रमुख उपलब्धिहरूको रुपमा सरकारको स्थायित्व, अर्थतन्त्रको सुधार, र समसामयिक न्यायसम्बन्धी कानुन पारित हुनु लगायतका कुरा प्रस्तुत गरिएको थियो।
बैठकमा विभिन्न समितिहरू गठन गरिएको र आगामी दिनहरूमा थप छलफल र निर्णय हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया