
श्रेणी : खेलकुद
वीरगन्ज, ११ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वीरगन्जका क्रिकेटरहरू आरिफ शेख र आशिफ शेखलाई वीरगन्ज महानगरपालिका–१० को कार्यालयले नगदसहित सम्मान गरेको छ ।
जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ शेख र सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने आरिफ शेखलाई जनही नगद ५१ हजार रुपैयाँ र प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा वडाध्यक्ष सुशील कुमार कानुले खेलाडीहरूको प्रयास र उपलब्धिले वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। “आरिफ र आशिफको उत्कृष्ट प्रदर्शनले सम्पूर्ण वीरगञ्जवासीको गर्व बढाएको छ। खेलकुद र खेलाडीको प्रोत्साहनका लागि हाम्रो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता छ,” उनले भने ।
जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले वीरगञ्जवासीको मायाले आफूलाई थप प्रेरणा दिएको बताउँदै देशको नाम उच्च बनाउन निरन्तर मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे। “यस्ता सम्मानहरूले हामीलाई अघि बढ्न थप ऊर्जा दिन्छन्,” उनले भने ।

प्रतिक्रिया