काठमाडौं,१५ फागुन । एकीकृत समाजवादी पार्टीले सरकारद्वारा ल्याइएका अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु दुवैमा असहमति जनाएको छ। बुधबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा यो निर्णय गरिएको हो। बैठकले त्रुटिपूर्ण अध्यादेशहरू संसदमा पेश भएमा विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ।
पार्टीका महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदल पनि गठन गरिएको छ, जसले तात्कालिक कार्ययोजना र अन्य दस्तावेजहरू तयारी गर्नेछ। बैठकले आगामी कार्यक्रम, नीति र योजनालाई एकताबद्ध रुपमा अघि बढाउने पनि निर्णय गरेको छ।
यसो मात्रै होइन, बैठकले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा गर्दै आगामी आन्दोलन र पार्टी निर्माणका रणनीतिहरूमा छलफल गरेको छ। साथै, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यका बारेमा पनि छलफल गरिएको थियो।
पार्टी नियमावली र विनियमअनुसार संगठन विस्तार र देशभर पार्टीको सुदृढीकरणका विषयमा छलफल पनि गरिएको छ।
प्रतिक्रिया