
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाइएकोमा आपत्ति जनाएका छन् ।
विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध भनिएका ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन्।
रावलले सामाजिक संजालमा लेखेका छन्,’अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ। एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।’
एमालेले अर्कै दलका अध्यक्ष ढकाललाई चुनावी तालमेलका नाममा समानुपातिकबाट सांसद बनाउने निर्णय गरिसकेको छ।
— Bhim Rawal, PhD (@BhimRawal179) December 11, 2022


प्रतिक्रिया