वीरगंज (पर्सा), ७ फागुन । ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय जनकपुरधामको गाडी दुरुपयोग भएको पाइएको छ । पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहीया निवासी उर्जा सिँचाई तथा खानेपानीमन्त्री सिंगासन सा कलवारको भाई इंग्रासन सा कलवारले मन्त्रालयको गाडी निजी प्रयोजनको लागि दुरुपयोग गरेको पाइएको हो ।
मन्त्रालयको प्रदेश-२-०२-००१ झ ०१६१ नम्बरको क्रेटा गाडी उनका भाईले आफ्नो निजी कामको लागि चढेर वीरगंज आइपुगेको पाइएको हो । मन्त्री सिंगासन सा कलवारको आफ्नै भाई इंग्रासन सा कलवारले जिल्ला समन्वय समिति कार्यालय पर्साको हाताभित्र रहेको मधेश प्रदेश पूर्वाधार विकास कार्यालय पर्सामा ठेक्का पट्टाको कामको लागि मन्त्रालयको गाडी चढेर पुगेको अवस्थामा फेला परेको थियो ।
मन्त्रालयको गाडी दुरुपयोग भएको केही सञ्चारकर्मीहरुले फेला पारेर तस्विर एवं भिडियो खिच्न लाग्दा चालकले गाडी लिएर बाहिरिएका थिए । कलवार मन्त्री भएकै कारण उनका भाईले निजी कामको लागि परिवारका अन्य सदस्यहरुले समेत उक्त गाडी प्रयोग गर्ने गरेको बताइएको छ । नेपाल सरकारले मन्त्री एवं त्यस मातहतका कर्मचारीहरु चढ्ने गाडीलाई मन्त्री सा को आफन्तले निजी कामको लागि प्रयोग गर्ने बताइएको छ । मन्त्री सा का भाईले ठेक्का पट्टाको काम गर्दै आएका छन् ।
यसबारे मन्त्री सा सँग बुझ्दा मन्त्रालयको कामको लागि गाडी वीरगंज गएको हुन सक्ने बताए । मन्त्रालयको गाडी मातहतकै कर्मचारी एवं आफ्नो स्वकीय सचिवले मन्त्रालयकै कामको लागि लिएर गएको हुन सक्ने जवाफ दिए । तर पूर्वाधार विकास कार्यालयमा पाइएको मन्त्रालयको गाडी मन्त्रालयको काम नभएर मन्त्रीको भाईले आफ्नो ठेक्का पट्टाको कामको लागि पुगेको पाइएको हो ।
पूर्वाधार विकास कार्यालय उर्जा सिँचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत पनि नपर्ने गरेकोले गाडी मन्त्रालयको कामको लागि नभई निजी कामको लागि त्यहाँ पुगेको बुझ्न सकिन्छ । उक्त गाडी मन्त्रालय मातहतको कर्मचारीहरु चढ्नको लागि भएपनि मन्त्री सा का भाई एवं परिवारका अन्य सदस्यहरुले आफ्नो निजी कामको लागि लामो समयदेखि प्रयोग गर्दै आएको स्थानीयहरुको भनाई छ ।
प्रतिक्रिया