
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,०२ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादव बिहीबार साँझ इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्वागत समारोहमा सहभागी भए।
काठमाडौंमा आयोजित उक्त कार्यक्रम नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासको आतिथ्यमा सम्पन्न भयो। समारोहमा उपराष्ट्रपति यादवसँगै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, पूर्वमन्त्री, विभिन्न दलका नेताहरूको उपस्थिति थियो।
कार्यक्रममा यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, इजरायली नागरिकलगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले सहभागिता जनाएका थिए।
समारोहले नेपाल र इजरायलबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको सन्देश दिने र आगामी दिनमा दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउने उद्देश्य लिएको थियो।


प्रतिक्रिया