श्रेणी : BANNER
काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर-२ मा जनता समाजवादी पार्टीले दाबी गरेको छ । पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले यस क्षेत्रमा जसपाले दाबी गरेको हो ।
बुधबार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गरे । उनले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताए ।
बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ ।
त्यस्तै यही चैत्र २७, २८ र २९ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ । विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया