
श्रेणी : अन्तर्राष्ट्रिय
उत्तर कोरियाले बिहीबार थप दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दुई साताभन्दा कम समयभित्र प्योङयाङले छैटौँ क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रिया स्वरूप पछिल्ला प्रक्षेपण गरिएको प्योङयाङले बुधबार बताएको थियो ।
यसअघि मङ्गलबार जापानी आकाशसम्म पुग्नेगरी प्योङयाङले एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको थियो ।
बैठकमा अमेरिकाले उत्तर कोरियाविरुद्ध सशक्त प्रतिबन्धहरू लगाउनबाट रुस र अमेरिकाले रोकिरहेको आरोप लगाएको छ । प्रतिबन्धहरूविरुद्ध मतदान गरेर मस्को र बेइजिङले प्योङयाङलाई पूरै जोगाएको राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले आरोप लगाए ।
राष्ट्रसङ्घका लागि चिनियाँ र रुसी प्रतिनिधिहरूले चाहिँ सजाय दिनुभन्दा संवाद बढाउनु उत्तम हुने तर्क गरे । मङ्गलबार प्योङयाङले गरेको क्षेप्यास्त्र प्रक्षेपणको प्रतिक्रिया स्वरूप बुधबार अमेरिका, जापान र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरे ।
सन् २०१७ यता पहिलो पटक प्योङयाङले मङ्गलबार जापानी आकाशसम्म बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । संयुक्त राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्र तथा परमाणु अस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया