श्रेणी : प्रदेश
काठमाडौं, २५ साउन । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय अन्तर्गतका सबै निकाय र कार्यालयहरूलाई यथाशीघ्र ई–हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा केही समयअघि ई–हाजिरीको प्रारम्भ गरिएको भए तापनि यसको प्रयोगमा कमी आएको गुनासो बढ्दै गएपछि मन्त्री यादवले यो निर्देशन जारी गरेका हुन् ।
मन्त्री यादवले कर्मचारीहरूको उपस्थितिको नियमितता, पारदर्शिता, र सुशासन सुनिश्चित गर्न ई–हाजिरी प्रणालीलाई समयमै कार्यान्वयनमा ल्याउन र यसबाट कर्मचारीहरूको उपस्थिति, बिदा, र काज सम्बन्धी रेकर्ड व्यवस्थित गर्न सबै कार्यालयहरूलाई कडा निर्देशन दिएका छन् । उनले कुनै पनि निकाय वा कार्यालयले ई–हाजिरी लागू नगरेको पाइएमा यथाशीघ्र यो प्रणाली लागू गर्नुपर्ने कुरा स्पष्ट पारे ।
यादवले रानीपोखरीस्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग, मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भैँसेपाटी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर, नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर, र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग त्रिपुरेश्वरलाई विशेष रूपमा ई–हाजिरी लागू गर्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवका निजी सचिव भक्तराज जोशीका अनुसार, मन्त्रीले ई–हाजिरी लागू गरेर कर्मचारीहरूको बिदा, काज लगायतका रेकर्डहरूको जानकारी मन्त्रालयमा नियमित रूपमा अद्यावधिक गराउने व्यवस्था गर्न निर्देशन दिइएकाे छ ।
उनले भने, “ई–हाजिरी प्रणालीबाट बिदा, काज लगायतका विषयहरूलाई व्यवस्थित गरेर समय पालना र पारदर्शिता बढाउन सबै कार्यालयहरूले यसलाई अनिवार्य रूपमा लागू गर्नु पर्दछ ।” निर्देशपछि मन्त्रालय अन्तर्गतका सबै निकायहरूमा ई–हाजिरीको प्रयोग अनिवार्य र नियमित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया