
श्रेणी : अन्तर्राष्ट्रिय
इरानका उपमन्त्री जलिल सलारीले प्रतिस्पर्धात्मक मूल्यका कारण इरानबाट दैनिक औसत एक करोड लिटर डिजेल तस्करी हुने गरेको बताएका छन् ।इरानको ‘नेशनल इरानी आयल रिफाइनिङ एण्ड डिस्ट्रिब्युसन कम्पनी’का प्रबन्ध निर्देशकसमेत रहेका सलारीले इरानको आधिकारिक समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा उक्त कुराको जानकारी दिएका हुन् ।
इरानमा एक लिटर डिजेलको मूल्य आसपासका देशको तुलनामा करिब शून्य दशमलव ८ अमेरिकी डलर कम रहेकोले इरान र उसका छिमेकी मुलुकबीच डिजेलको मूल्यमा आएको भिन्नताले तस्करीलाई आकर्षण गरेको उनले बताए । सलारीका अनुसार देशको यातायात क्षेत्रमा डिजेलको दैनिक खपत अहिले आठ करोड ४० लाख लिटर रहेको छ भने डिजेलको तस्करी रोक्नको लागि, इरानले व्यक्तिगत ईन्धन कार्डको प्रयोगलाई बढावा दिएको छ ।
विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डारमा रहेको इरानले आफ्ना १० प्रशोधन केन्द्रबाट दैनिक २२ लाख ब्यारेलभन्दा बढी कच्चा तेल र ‘कन्डेन्सेट’ प्रशोधन गर्दै आएको छ । देशको दैनिक डिजेल र पेट्रोलको उत्पादन क्रमशः ११ करोडदेखि ११ करोड ५० लाख लिटरसम्म पुगेको सलारीले बताए ।


प्रतिक्रिया