श्रेणी : BANNER
वीरगन्ज, १८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ इनर्वामा राजनीतिक समीकरणमा महत्वपूर्ण फेरबदल देखिएको छ। नेपाली कांग्रेससँग आबद्ध स्थानीय नेताहरूले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै इनर्वाका कांग्रेसका स्थानीय नेता नाजिर मियाँ धोबी, नुरुदा अन्सारीलगायतका नेताहरूले पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवलाई समर्थन जनाउँदै एमाले रोजेका हुन्। उनीहरूको प्रवेशले वडा नम्बर–१६ मा एमालेको संगठनात्मक शक्ति थप बलियो बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
युवा नेता अफरोज आलम र असाहब आलमको पहलमा आयोजित कार्यक्रममा नवप्रवेशी नेताहरूलाई उम्मेदवार यादवले अबिर–टीका लगाएर पार्टीमा स्वागत गरे। सो अवसरमा उनले नगवा र इनर्वा क्षेत्रमा एमालेप्रतिको जनसमर्थन तीव्र रूपमा बढिरहेको दाबी गर्दै आफ्नो जिततर्फको बाटो झन् स्पष्ट बन्दै गएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै यादवले मुलुकको विकास र समृद्धिको स्पष्ट कार्ययोजना एमालेसँग मात्रै रहेको उल्लेख गरे। “पर्सा–१ को समग्र विकासका ठोस एजेन्डा मसँग छन्,” उनले भने, “आगामी कार्यकालमा ती सबै योजनालाई व्यवहारमा उतार्ने प्रतिबद्धता गर्दछु।”
उनले जनताको सुख–दुःखमा सधैं साथ दिने नेतृत्वलाई यसपटक पनि जनताले फागुन २१ गतेको मतदानमार्फत रोज्ने विश्वास व्यक्त गरे। स्थानीय स्तरमा बढ्दो समर्थन र कांग्रेसबाट भएका प्रवेशले पर्सा–१ को चुनावी माहोल थप तातेको देखिएको छ।

प्रतिक्रिया