
श्रेणी : BANNER
जनकपुर,१६ वैशाख । सप्तरीको राजविराज नगरपालिका–१ चनौरामा एक दर्दनाक घटना सार्वजनिक भएको छ, जहाँ एक आमाले घरायसी विवादपछि आफू र आफ्ना नाबालक छोरालाई विष खुवाएकी छन्। विष सेवनबाट ४ वर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यु भएको छ भने आमा काजल देवी साफीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
२५ वर्षीया काजल देवी साफीले घरायसी झगडापछि नाम नखुलाइएको कीरा मार्ने विषादी आफू र छोरा दुवैलाई खुवाएकी थिइन्। गम्भीर अवस्थामा पुगेका सौरभलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराटनगरको नोवेल अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
विष सेवन गरेकी आमा काजल देवीको पनि अवस्था चिन्ताजनक रहेको र विराटनगरको नोवेल अस्पतालमै उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार पारिवारिक विवाद नै घटनाको मूल कारण देखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया