श्रेणी : प्रदेश
काठमाडौं, २१ चैत्र । विद्यालय शिक्षा ऐनको शीघ्र जारीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षक तथा शिक्षा कर्मचारीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ताका लागि आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा शिक्षकहरूले उठाएका मागबारे मन्त्रालय जानकार रहेको र समाधानका लागि वार्तामा बस्न तयार रहेको उल्लेख छ।
विद्यालय शिक्षा विधेयक २०८० हाल प्रतिनिधिसभाको शिक्षा समितिमा छलफल प्रक्रियामा रहेको छ। मन्त्रालयले यसअघि पनि शिक्षक समुदायसँग आवश्यक परामर्श गरी विधेयकको मस्यौदा तयार गरेको र थप छलफलका लागि आफूहरू खुला रहेको स्पष्ट पारेको छ।
शिक्षकहरूले विधेयक यथाशक्य छिटो पारित गर्नुपर्ने माग राख्दै आन्दोलन चर्काएपछि सरकारले वार्ताको पहल थालेको हो। मन्त्रालयले शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई छलफलका लागि स्वागत गर्ने बताउँदै सामूहिक सहमति आवश्यक रहेको उल्लेख गरेको छ।
मन्त्रालयले संसदमा पेश विधेयकलाई कानुनी प्रक्रिया अनुरूप छलफल गरी स्वीकृत गरिने बताउँदै, “शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धतालाई सकारात्मक रूपमा लिनेछौं” भनेको छ।
विद्यालय शिक्षा ऐनको माग गर्दै सडकमा उत्रिएका शिक्षकहरूसँग सहमति निर्माणका लागि मन्त्रालय वार्ताका लागि तयार रहेको बताइएको छ।

प्रतिक्रिया