वीरगन्ज :

आन्तरिक राजस्व कार्यालय बीरगन्जले ९ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्‍यो

श्रेणी : अर्थ

2 weeks
Pradeep Sah
2.8kViews
1373 Shares

बीरगन्ज,०७ जेठ । आन्तरिक राजस्व कार्यालय बीरगन्जले चालू आर्थिक वर्षको पहिलो नौ महिनामा तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। यस अवधिमा कार्यालयले कुल रु ६ अर्ब ६५ करोड ७९ लाख ८ हजार राजस्व संकलन गरेको छ, जुन विभागले तोकेको रु ६ अर्ब १३ करोड ९५ लाख ६९ हजारको लक्ष्यभन्दा करिब १०८.४४ प्रतिशत बढी हो।

कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईंका अनुसार, आयात अन्तःशुल्क करमा १३८.९४ प्रतिशत राजस्व संकलन गरेर कार्यालयले उल्लेखनीय प्रगति देखाएको छ। रु २ अर्ब १६ करोड ६१ लाखको लक्ष्यभन्दा बढी, रु ३ अर्ब ९६ लाख २४ हजार संकलन भएको छ।

आयकरतर्फ करिब शतप्रतिशत अर्थात् ९९.१७ प्रतिशत राजस्व संकलन भएको छ। रु २ अर्ब १३ करोड २५ लाखको लक्ष्यअनुसार रु २ अर्ब ११ करोड ४७ लाख ५७ हजार संकलन गरिएको छ। बहाल करमा पनि रु २२ करोड ९१ लाख ४ हजार राजस्व सङ्कलन भएको छ भने ब्याज करतर्फ रु ४५ करोड ५७ लाख संकलन भएको छ।

तर, मूल्य अभिवृद्धि कर (भ्याट) मा लक्ष्यभन्दा केही कम, ८३.५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। रु १ अर्ब ७५ करोड ३३ लाख ६७ हजारको लक्ष्य रहेकोमा रु १ अर्ब ४३ करोड ३९ लाख ९४ हजार मात्र संकलन भएको छ।

आन्तरिक राजस्व विभागले बीरगन्ज कार्यालयलाई चालू आर्थिक वर्षको कुल रु ८ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। नौ महिनाको प्रगति हेर्दा कार्यालयले वर्षको अन्त्यसम्म लक्ष्य सजिलै पूरा गर्ने सम्भावना रहेको प्रमुख कर अधिकृत चौलागाईंले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *