
श्रेणी : प्रदेश
काठमाडौं,२० जेठ । आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि तय गरिएको छ। यद्यपि, विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्ने तयारी गरिरहेका छन्, जसले कार्यसूची प्रभावित हुनसक्ने देखिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्ने छन्।
त्यससँगै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन, २०८२” पेस गर्ने कार्यसूचीमा छ।
राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “भन्सार विधेयक, २०८०” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले “सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०” मा प्रतिनिधिसभाबाट पारित भएको संशोधनमाथि छलफल र सहमतिको प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्।
प्रतिनिधिसभाको बैठक आज पनि सहज सञ्चालन नहुन सक्ने अनुमान छ, किनकि विपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्ने रणनीतिमा छन्। यसले आजको बैठक कार्यसूचीमा प्रवेश हुन नदिने सम्भावना बढाएको छ।


प्रतिक्रिया