वीरगंज – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) आज वीरगंजसहित देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्दै वीरगंजका विभिन्न सरस्वती मन्दिर, विद्यालय तथा शैक्षिक संस्थामा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मिक विश्वास रहिआएको छ। आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलनअनुसार वीरगंजका धेरै परिवारले आफ्ना बालबालिकालाई पहिलो पटक अक्षर लेख्न सिकाएका छन्। आज लेखपढ सुरु गराए राम्रो विद्या प्राप्त हुने जनविश्वास छ।
चन्द्रमाजस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, वरदायिनी, बुद्धिदात्रीलगायत विभिन्न नामले पुकार्दै पूजा आराधना गरेका छन्। विद्या र सृजनाकी देवी भएकाले विशेषगरी शिक्षक, विद्यार्थी, साहित्यकार, कलाकार तथा पत्रकारहरूले कलम, कापी, पुस्तक, कुची र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीक मानी पूजा गरेका छन्।
सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुने र वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। धार्मिक ग्रन्थहरूमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ, जसका कारण यसको विशेष महत्व रहिआएको छ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिक कार्यका लागि साइत हेर्नु नपर्ने विश्वास भए पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म भने नगरिने जनाइएको छ। यस अवसरमा बालबालिकाको शिक्षा आरम्भसँगै नाक–कान छेडिदिने चलन पनि रहेको छ।

वीरगंज र आसपासका क्षेत्रका सरस्वती मन्दिरहरूमा बिहानैदेखि विशेष पूजा–अर्चना भइरहेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि प्राप्त हुने विश्वासका साथ श्रद्धालुहरूले धार्मिक विधि पूरा गरेका छन्।
यसैबीच, श्रीपञ्चमीका अवसरमा काठमाडौंस्थित हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षद्वारा गरिने वसन्त श्रवण कार्यक्रम पनि आज सम्पन्न हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान १०ः२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने कार्यक्रम तय गरिएको छ। वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ।

प्रतिक्रिया