
श्रेणी : अर्थ
काठमाडौं,१४ वैशाख । संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बिहान ११ बजे सुरू हुने बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल र प्रस्तुती हुने कार्यसूची तय गरिएको छ।
बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रस्तुत गर्नेछन्।
त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यक्रम छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्नेछन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ मा राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद् समक्ष प्रस्तुत गर्नेछन्।
संसद् सचिवालयका अनुसार, आजको बैठक विधेयकहरूमाथि छलफल र संसदीय प्रक्रिया अगाडि बढाउने महत्वपूर्ण दिन बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया