
श्रेणी : प्रदेश
काठमाडौं,२१ जेठ । आज देशभर ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाइँदैछ। यो दिवस २०६८ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको हो।
यो दिवस २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरणमा मनाइन्छ। आजका दिन जातीय समानता र सामाजिक समावेशीताको विषयमा सरोकारवालाहरूले विभिन्न कार्यक्रम, छलफल र सांस्कृतिक गतिविधि आयोजना गरिरहेका छन्।
नेपालले छुवाछूत अन्त्यको कानुनी घोषणा गरेको १८ वर्ष बितिसकेको छ। तर, व्यवहारमा त्यो समानता अझै पूर्ण रूपमा देखिएको छैन। सामाजिक विभेदका घटना अझै बेलाबेला देखिने भएकाले सरोकारवालाहरू चिन्तित छन्। धेरै क्षेत्रमा छुवाछूत झैँ व्यवहार, अपमानजनक व्यवहार र विभेद अझै कायम छ।
नेपालको संविधानले जातीय भेदभाव र छुवाछूतलाई दण्डनीय अपराध मानेको छ।संविधानले सबै नागरिकलाई जात, भाषा, वर्ग, धर्म र संस्कृति अनुसारको समान हक अधिकार सुनिश्चित गर्ने, र समानुपातिक, समावेशी र सहभागितामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको छ।
दिवसको अवसरमा आज राष्ट्रका उच्चपदस्थ व्यक्तिहरूले शुभकामना सन्देश दिँदै, सबै नेपालीबीच समानता र सहअस्तित्वको भावना विकास गर्न आह्वान गरेका छन्। छुवाछूतमुक्त राष्ट्र बनाउन कानुनी कार्यान्वयन मात्र होइन, सामाजिक चेतना र व्यवहारमा परिवर्तन आवश्यक रहेको उनीहरूको भनाइ छ।


प्रतिक्रिया