वीरगन्ज :

आजपाले मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान गर्ने

श्रेणी : प्रदेश

8 months
Pradeep Sah
1.8kViews
1710 Shares

काठमाण्डौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान गर्ने भएको छ । आउँदो १ मंसिरमा एकै दिन काठमाडौँमा विरोध प्रदर्शनका साथै मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान सुरु गर्ने भएको हो ।

बढ्दो भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महँगी विरुद्ध यस्तो कार्यक्रम तय भएको आजपाले जनाएको छ ।

आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौँसहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।

आइतबार काठमाडौँस्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही १ मंसिरमा “सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार व्यवसाय बचाउ” भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यस्तै छठपर्व अघि वीरगन्जमा बसेको आजपाको प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेसमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक हप्तासम्म चल्ने उनले बताए । त्यसमा पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहसहित पार्टीका नेता कार्यकर्ताहरुको विशेष सहभागिता अभियानमा हुने बताइएको छ ।

सप्तरीबाट सुरु हुने सो अभियान पर्सामा आएर सम्पन्न हुनेछ । मधेसका प्रमुख शहरहरुमा सभा, प्रदर्शन, बैठक, भेला लगायतका गतिविधि हुने अभियानले पार्टीले पहिलो चोटी गर्न लागेको छ ।

यस्तै  देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्ने गराउने उद्देश्यका साथ मंसिर १ गते नै उपत्यका विशेष कमिटीको आयोजनामा संघीय राजधानी काठमाडौँमा विशेष प्रदर्शन गर्ने निर्णय समेत गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *