वीरगन्ज :

आईपीएल फेरि सुरु हुने घोषणा भएपछि चहलपहल, सुरक्षाबीच मे १७ देखि खेल सुरु

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
2.2kViews
1014 Shares

काठमाडौं,३१ वैशाख । भारत र पाकिस्तानबीचको तनावका कारण एक साताअघि रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ फेरि सुरु हुने भएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बाँकी रहेका १७ खेल मे १७ देखि जुन ३ सम्म सञ्चालन गर्ने निर्णय गरेपछि प्रतियोगिता पुनः चर्चामा आएको छ।

युद्धविरामको सहमति पछि बीसीसीआईले सरकार, सुरक्षा निकाय र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेर प्रतियोगिता पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। जारी प्रतियोगिता अब जयपुर, दिल्ली, लखनउ, मुम्बई, अहमदाबाद र बैंगलोरका मैदानहरूमा हुनेछ।

खेल शनिबार रोयल च्यालेन्जर बेंगलुरु र डिफेन्डिङ च्याम्पियन कोलकाता नाइटराइडर्सबीचको खेलबाट पुनः सुरु हुनेछ भने आइतबार दुई खेल हुनेछन्। फाइनलसहित प्ले-अफका चार खेल कहाँ हुने भन्ने निर्णय भने पछि गरिनेछ।

यसअघि धर्मशालामा हुनुपर्ने पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल सुरक्षा कारण स्थगित गरिएको थियो। जम्मुमा विस्फोट भएपछि विदेशी खेलाडीहरू घर फर्काइएका थिए भने अन्यलाई दिल्ली फर्काइएको थियो।

आईपीएल पुनः सुरु हुने भएपछि अन्तर्राष्ट्रिय क्रिकेट तालिकामा असर देखिएको छ। अस्ट्रेलियाका प्रमुख खेलाडी प्याट कमिन्स, मिचेल स्टार्क, जोस हेजलउड र ट्रेभिस जोन्स जुन ११ मा हुने विश्व टेस्ट च्याम्पियनसिपको तयारीमा रहेका छन्। क्रिकेट अस्ट्रेलियाले आफ्ना खेलाडीहरूलाई भारत फर्कन या नफर्कने स्वतन्त्रता दिइसकेको छ।

त्यस्तै, इंग्ल्यान्डले पनि वेस्ट इन्डिजसँगको आगामी एकदिवसीय शृंखलाका लागि आईपीएल खेलिरहेका कप्तान जोस बटलरसहित पाँच खेलाडीलाई टिममा समावेश गरेको छ। मे २९ देखि जुन ३ सम्म हुने ती खेलले इंग्लिस खेलाडीहरूको आईपीएल सहभागितामा प्रश्न उठाएको छ।

यता पाकिस्तान सुपर लिग (पीएसएल) पनि मे १७ बाट पुनः सुरु हुने तय भएको छ। युद्धविरामपछि पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिता अघि बढाउने निर्णय गरेको हो। अस्ट्रेलियाली खेलाडी डेविड वार्नरले पीएसएलका बाँकी खेलका लागि फर्कने घोषणा गरिसकेका छन्।

भारत–पाक तनावको छायामा क्रिकेट प्रतियोगिताहरू प्रभावित भए पनि अब स्थिरताको संकेतसँगै दुबै देशले पुनः प्रतियोगिता सञ्चालनमा लाने निर्णय गरेका छन्। सुरक्षालाई प्राथमिकता दिँदै आईपीएल र पीएसएल दुवै फेरि जीवन्त हुने तयारीमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *