
श्रेणी : अर्थ
काठमाडु, १७ माघ । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको “नेपाल स्टार्टअप र एसएमई सम्मेलन”मा सरोकारवालाहरूले आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा ध्यान दिए नेपालले वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सक्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्मेलनको दोस्रो दिन “उद्यमशीलता र जनशक्ति विकास: आईटी क्षेत्रको लागि तयारी” विषयक सामूहिक छलफलमा इनोभेटिभ नेपाल ग्रुप (आईएनजी) का प्रमुख सुलभ बुढाथोकीले आईटी क्षेत्रमा लगानी बढाएर ठूलो आर्थिक फाइदा लिन सकिने बताए ।
त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. महानन्द चालिसेले प्राविधिक शिक्षा र व्यवसायिक ज्ञानमा राज्यले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए। उनले विश्वविद्यालयले प्राविधिक शिक्षा विस्तारका लागि काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा योङ इनोभेसनका संस्थापक विभुषण बिस्टले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याए पाँच गुणा बढी जनशक्ति उत्पादन र सेवा निर्यात सम्भव हुने बताए। खिम्भु टेककी सीईओ कार्भिका थापाले सीप विकासमा जोड दिँदै रुचिको क्षेत्रमा उद्यमशीलता सुरु गर्न सुझाव दिइन् ।
संयोजक उर्मिला थपलियाले सम्मेलनले उद्यमशील र साना व्यवसायीहरूलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन्। सम्मेलनमा आईटी र उद्यम क्षेत्रको सम्भावना तथा व्यवसाय प्रवर्द्धनका विषयमा व्यापक छलफल भएको छ ।


प्रतिक्रिया