श्रेणी : धर्म संस्कृति
वीरगंज (पर्सा), २५ पुस । वीरगंज महानगरपालिका–१० स्थित बौधिमाई मन्दिर पछाडि रहेको खाली जग्गामा अवस्थित एउटा पुरानो आँपको रुखमा भगवान् श्री हनुमानजीको स्पष्ट आकृति देखिएपछि वीरगंजसहित आसपासका क्षेत्रमा धार्मिक उत्साह र आस्थाको लहर फैलिएको छ । आकृति देखिएको खबर फैलिएसँगै हजारौँ श्रद्धालुहरू दर्शन तथा पूजापाठका लागि ओइरिन थालेका छन् ।
स्थानीयहरुका अनुसार उक्त आकृति पहिलो पटक बुधवार साँझ देखिएको हो । खाली जग्गामा घाँस काटिरहेकी एक स्थानीय महिलाले आँपको रुखको बोक्रामा हनुमानजीको पूर्ण आकृति देखेपछि छिमेकीहरूलाई जानकारी गराएकी थिइन् । यो खबर छिट्टै फैलिँदा साँझ करिब ५ बजेदेखि नै वीरगंजका विभिन्न वडाबाट श्रद्धालुहरूको ठूलो भीड लाग्न थालेको हो ।
दोश्रो दिन बिहीबार बिहानैदेखि पर्सा र बारा जिल्लाका विभिन्न स्थानहरू, साथै सीमावर्ती भारतीय सहर रक्सौल लगायतबाट समेत श्रद्धालुहरूको ओइरो लागेको छ । स्थानीय बासिन्दाहरूले आकृतिलाई साक्षात् भगवान् श्री हनुमानजीको प्रकटीकरणको रूपमा विश्वास गर्दै रुखको फेदमा फूल, धूप, दीप, प्रसाद अर्पण गरी विधिवत् पूजापाठ सुरु गरेका छन् । दर्शनका लागि लामो लाइन लाग्ने क्रम अझै जारी छ ।
बौधिमाई मन्दिरका पुजारी ददन ओझाका अनुसार आकृति प्रकट भएयता दिनरात श्रद्धालुहरूको भीड कम भएको छैन । ‘हजारौँ भक्तजनले दर्शन गरी पूजापाठ गरिसक्नुभएको छ । यो भगवान् हनुमानजीको कृपा हो,’ उनले भने । पुजारी ओझाले सबै श्रद्धालुलाई दर्शनका लागि आउन आग्रहसमेत गरेका छन् ।
यस घटनाप्रति स्थानीय सरकारको ध्यान समेत गएको छ । वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष सुशील कुमार कानुले धार्मिक आस्थाको सम्मान गर्दै आकृतिको संरक्षणमा जोड दिएका छन् । उनले आकृति देखिएको स्थान आफ्नो वडाभित्र पर्ने जानकारी दिँदै स्थानीय जनभावनाको कदर गर्दै आवश्यक संरक्षणका उपाय अपनाइने बताए । साथै श्रद्धालुहरूको सुविधा र व्यवस्थापनका लागि वडा कार्यालय तयार रहेको जानकारी पनि उनले दिए ।
वडाध्यक्ष कानुले महानगरपालिकासँग समन्वय गरी दीर्घकालीन संरक्षण तथा भविष्यमा हनुमान मन्दिर निर्माणको सम्भावनाबारे समेत छलफल अघि बढाउन सकिने उल्लेख गरे । आकृति दर्शन गर्न पुगेका हिन्दुवादी अगुवा चन्दन कुमारले यो घटनालाई वीरगंजवासीका लागि ठूलो सौभाग्यको रूपमा व्याख्या गरे । ‘रुखमा साक्षात् श्री हनुमानजी प्रकट हुनु अत्यन्तै दुर्लभ घटना हो,’ भन्दै उनले आकृतिको संरक्षण गर्दै सो स्थानमा भव्य हनुमान मन्दिर निर्माण गर्नुपर्नेमा जोड दिए ।
यस्तै, वीरगंज–६ अलौँबाट आएका श्रद्धालु सञ्जय साह कानुले भगवान् हनुमानजीले वीरगंजवासीलाई प्रत्यक्ष दर्शन दिएर आशीर्वाद प्रदान गरेको विश्वास व्यक्त गरे । उनले पनि सो स्थानलाई धार्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने माग गरे । स्थानीय बासिन्दाहरूले वीरगंज महानगरपालिकासमक्ष औपचारिक रूपमा आकृति देखिएको स्थानमा भव्य हनुमान मन्दिर निर्माणको आग्रह गरेका छन् । उनीहरूका अनुसार यसले धार्मिक आस्थासँगै क्षेत्रको पर्यटकीय महत्व पनि उल्लेखनीय रूपमा बढाउनेछ ।
घटनाले वीरगंजमा धार्मिक एकता, श्रद्धा र उत्साहको वातावरण सिर्जना गरेको छ । श्रद्धालुहरूको संख्या दिनदिनै बढ्दै गइरहेकाले सुरक्षा व्यवस्था, भीड नियन्त्रण र समग्र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । भगवान् श्री हनुमानजीको कृपाले सबै भक्तजनको मनोकामना पूरा होस् भन्ने कामनासहित श्रद्धालुहरू दर्शन गरी फर्किरहेका छन् ।


प्रतिक्रिया