
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडाैं,३१ जेठ । भारतको गुजरात राज्यस्थित अहमदावादमा बिहीबार भएको भीषण विमान दुर्घटनामा मृतक संख्या बढ्दै गएको छ। शनिबार दुर्घटनास्थलमा थप एक शव फेला परेसँगै मृत्यु हुनेको संख्या २७५ पुगेको पुष्टि भएको छ।
शव अहमदावादको बिजे मेडिकल कलेजको होस्टलमा फेला परेको हो। उद्धारकर्मीहरूले विमानको पुच्छरमा फसेको अवस्थामा एक शव निकाल्न सफल भएका हुन्। पोस्टमार्टमपछि उक्त शव एक एयर होस्टेसको भएको पुष्टि गरिएको छ।
दुर्घटनापछि मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण र नमुना संकलनको काम तीव्र गतिमा भइरहेको छ। हालसम्म २३० भन्दा बढी व्यक्तिको डीएनए स्याम्पल लिइसकिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसैबीच सिभिल अस्पतालबाहिर मृतकका आफन्तहरू शोकमा डुबेका छन्।
अस्पताल स्रोतका अनुसार २७० भन्दा बढी शवको पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको छ भने मृतकहरूमध्ये धेरैको पहिचान भइसकेको छ।
दुर्घटनाको सबैभन्दा भयावह पक्ष बिजे मेडिकल कलेजको होस्टलमा परेको छ। दुर्घटनामा होस्टलमा रहेका ३४ जनाको ज्यान गएको छ, जसमा पाँच जना चिकित्सक र ३१ जना अन्य स्टाफ सदस्य थिए।
भारतीय विमान कम्पनीको उक्त जहाज अहमदावादबाट उडेको केवल दुई मिनेटमै होस्टलको भवनमा ठोक्किएको थियो। जहाजमा कुल २४२ जना (यात्री र चालक दल) सवार थिए। दुर्भाग्यवश, तीमध्ये केवल एक जना मात्र जीवित बच्न सफल भएका छन्।
सरकार र उद्धार टोलीहरूले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका छन् भने दुर्घटनाको कारणबारे विस्तृत विवरण पर्खन बाँकी छ।


प्रतिक्रिया