वीरगन्ज :

असिनापानी र हावाहुरीले मधेसमा ठूलो क्षति किसानलाई राहत उपलब्ध गराउन प्रभु साहको माग

श्रेणी : कृषि

2 months
Pradeep Sah
1.8kViews
1974 Shares

बीरगन्ज,१५ वैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले मधेसका किसानहरू असिनापानी र हावाहुरीका कारण गम्भीर रूपमा प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले बारा, रौतहट, पर्सा लगायतका जिल्लामा बालीनालीमा ठूलो क्षति पुगेको र जनजीवन अस्तव्यस्त बनेको जानकारी गराए। उनले आँप, लिची र तरकारी खेतीमा व्यापक क्षति पुगेकाले पीडित किसानहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरे।

साहले विद्युत र सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप कष्टकर बनेको उल्लेख गर्दै ती सेवा यथाशीघ्र पुनःस्थापना गर्न आग्रह गरे। “किसानका बगैंचामा आँप र लिची नष्ट भएका छन्, गरिबका घरका छाना उडेका छन्, कतिपयको घर भत्किएका छन्। विद्युतका पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ भने सञ्चार सेवा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ,” उनले भने।

सांसद साहले हुलाकी राजमार्ग अन्तर्गत मटिअर्वा–कलैया–पिलुवा सडकखण्डको स्तरोन्नति नभएको विषयमा पनि सरकारसँग प्रश्न उठाए। वर्षौंदेखि ठेक्का लागे पनि कलैया बजार क्षेत्रमा ३ किलोमिटर सडक कालोपत्रे हुन नसकेको भन्दै उनले सरकारलाई जवाफ दिन चुनौती दिए।

“प्रधानमन्त्री, भौतिक पूर्वाधारमन्त्री र अर्थमन्त्री तीनैजना एमालेका हुनुहुँदा पनि यो सडक कालोपत्रे हुन नसक्नु किन?,” उनले प्रश्न गरे, “सरकारको लापरवाहीले सर्वसाधारणले दशकौंदेखि सास्ती भोग्नुपरेको छ।”

साहले सडक निर्माण कार्यमा देखिएको उदासीनताप्रति आक्रोश व्यक्त गर्दै समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *