वीरगन्ज :

अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंहले मध्यरातमै गरे छड्के अनुगमन

श्रेणी : अपराध

3 hours
Pradeep Sah
3.0kViews
1657 Shares

जनकपुर,२४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बुधबार मध्यरात धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहा क्षेत्रमा कमला खोलाबाट भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्न छड्के अनुगमन गरेका छन्। मुख्यमन्त्री सिंहले सुरक्षा अधिकारीहरूसहित राति १२ बजेदेखि ३ बजेसम्म छापामार शैलीमा अनुगमन गरेका थिए।

राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननले पर्यावरणीय सन्तुलनमा नकारात्मक असर र राजस्व घाटा भइरहेको गुनासा आएपछि मुख्यमन्त्री सिंहले छड्के अनुगमनको पहल गरेका हुन्।

धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुण सिंहका अनुसार अनुगमनका क्रममा १३ ट्याक्टर, दुई बकेट, र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको छ। स्काइभेटर र अन्य उपकरण प्रयोग गरिरहेका केही व्यक्ति भने अँध्यारोको फाइदा उठाउँदै भागेका थिए।

मुख्यमन्त्री सिंहले प्राकृतिक स्रोतको जथाभाबी दोहनले राज्य सम्पत्तिमा हानि पुर्‍याएको र पारिस्थितिकीय संकट निम्त्याएको बताउँदै अवैध उत्खनन रोक्न कडा कदम चाल्ने प्रतिबद्धता जनाए। धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले अवैध उत्खननविरुद्ध कडाइका साथ प्रहरी परिचालन गर्ने र जिल्ला अनुगमन समितिको बैठकबाट थप योजना बनाउने बताए।

डिभिजन वन कार्यालय धनुषाले यसअघि गणेशमान नगरपालिकास्थित क्रसर उद्योगहरूबाट अवैध उत्खनन भइरहेको गुनासोपछि जिल्ला समन्वय समितिलाई विधि अनुरूप उत्खनन व्यवस्थित गर्न आग्रह गरेको थियो। तर, जनशक्ति अभाव र प्रहरी सहयोगको कमीले ठूलो स्तरमा नियन्त्रण अभियान सञ्चालन गर्न कठिनाइ भएको जनाइएको छ।

मुख्यमन्त्री सिंहको छड्के अनुगमनलाई स्थानीयवासीले सकारात्मक कदमका रूपमा लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *