
श्रेणी : मधेस
बीरगन्ज,१५ वैशाख । पर्साको बीरगन्जमा आयोजित शिक्षा नीति सम्बन्धी संवाद कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले अवैज्ञानिक रूपमा विद्यालय स्थापना हुँदा राज्यलाई ठूलो आर्थिक भार परेको र शैक्षिक गुणस्तरीयता कमजोर बनेको टिप्पणी गरेका छन्।
‘शिक्षा नीतिमा स्पष्टता, कार्यान्वयनमा सरोकारवालाको जवाफदेहीता’ नारासहित कारखाना समूहको संयोजनमा आयोजित कार्यक्रममा अध्यक्ष चौधरीले विगतमा मनपरी ढंगले विद्यालय दर्ता गरिएको उल्लेख गरे। “झोलामा विद्यालय दर्ता गर्दा शिक्षामा सुधार आउन सकेन, न त गुणस्तर कायम रह्यो,” उनले भने, “अहिले हामी विद्यालय मर्ज गरेर सुधार गर्न खोज्दा राजनीतिक दबाबले अप्ठ्यारो भएको छ।”
उनले पटेर्वा सुगौली गाउँपालिकाले आफ्नो बजेटको ११ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याएको जानकारी गराए। कृषि उत्पादन र सीमावर्ती व्यापारमा अगाडि रहेको पटेर्वा सुगौलीलाई विविधतायुक्त र महत्वपूर्ण गाउँपालिका भएको उनले बताए।
कार्यक्रममा उपाध्यक्ष ममता कुमारी चौधरीले पालिकाले उच्च शिक्षामा महिला छात्रवृत्ति, स्वयंसेवक शिक्षक नियुक्ति तथा एक टोल एक उद्यम कार्यक्रममार्फत महिलालाई आर्थिक रूपमा सशक्त बनाउन जोड दिएको बताइन्। उनले विद्यालयमा वार्षिक अभिभावक अनुगमन अनिवार्य गरे शिक्षा क्षेत्रमा आमूल सुधार सम्भव हुने दाबी गरिन्।
प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले आधुनिक शिक्षामा जोड दिँदै नवप्रवर्द्धन आधारित आर्थिक विकासका लागि शिक्षाको महत्व उल्लेख गरे। उनले शिक्षण तालिम तथा योजना कार्यान्वयनमा केन्द्रित प्रयास भइरहेको बताए।
कारखाना समूहका प्रादेशिक अधिकृत तथा कार्यक्रम संयोजक निरज कुमार मिश्रले शिक्षा नीति, बजेट पारदर्शिता, कार्यान्वयनको जवाफदेहीता र नागरिक समाजको सहभागिता सुदृढ गर्ने उद्देश्यसहित संवाद कार्यक्रम गरिएको जानकारी गराए। उनले पटेर्वा सुगौलीमा औसत साक्षरता दर ६० प्रतिशत, महिला साक्षरता ५२ प्रतिशत र पुरुष साक्षरता ६८ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरे।
उनका अनुसार दलित, मुस्लिम र विपन्न समुदायका बालबालिकाले अझै पनि शिक्षा पहुँचमा चुनौती भोगिरहेका छन्। यद्यपि विद्यालय व्यवस्थापन समिति, अभिभावक र पालिकाको सहकार्यबाट सिकाइ वातावरणमा केही सुधार आएको पनि बताए।
कार्यक्रममा शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व, निगरानी संयन्त्र र वकालत रणनीति आदानप्रदान गरी सार्वजनिक शिक्षा सुधारमा नागरिक समाजको भूमिकालाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य साजिर मन्सूरले गरेका थिए।
गत वैशाख १२ गते रौतहटको चपुरमा पनि यस्तै प्रकृतिको कार्यक्रम सम्पन्न भएको थियो।


प्रतिक्रिया