श्रेणी : मधेस
वीरगञ्ज, ५ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत महानगरपालिका वडा नम्बर–१७ को अलौ सिवान टोलमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशील कुमार कानु ले सञ्चालन गरेको घरदैलो अभियान उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति देखिएको थियो, जसले चुनावी माहोललाई थप सक्रिय बनाएको सहभागीहरूले बताएका छन्।
घरदैलोका क्रममा ८५ वर्षीय जेष्ठ नागरिक जनक साह ले उम्मेदवार कानुलाई विजयको आशीर्वाद दिँदै वर्तमान राजनीतिमा नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका थिए। उनले सामाजिक सुरक्षा भत्ता जस्ता कार्यक्रम राज्यको दायित्व भएको उल्लेख गर्दै मतदाताहरूलाई भावनात्मक प्रचारभन्दा तथ्य र विवेकका आधारमा निर्णय गर्न आग्रह गरे। उनका भनाइले उपस्थित स्थानीयबीच सकारात्मक सन्देश फैलिएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा उम्मेदवार कानुले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्राथमिकताबारे जानकारी दिएका थिए। उनले दलित समुदाय लक्षित स्वास्थ्य सेवा सुधार, गुणस्तरीय शिक्षामा पहुँच विस्तार, युवाका लागि रोजगारीका अवसर सिर्जना तथा कृषिमा आधारित स्वरोजगार कार्यक्रमलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कानुले विकास र सुशासनलाई केन्द्रमा राखेर क्षेत्रको आवश्यकता अनुसार नीति निर्माण गर्ने बताउँदै परिणाममुखी राजनीति आफ्नो लक्ष्य भएको धारणा राखे। जनताको जीवनस्तर उकास्ने योजनालाई पहिलो प्राथमिकता दिने उनले उल्लेख गरे।
घरदैलोका क्रममा युवादेखि जेष्ठ नागरिकसम्मले परिवर्तनको पक्षमा नारा लगाउँदै समर्थन जनाएका थिए। स्थानीयवासीहरूले लामो समयदेखि पुराना दलबाट अपेक्षित विकास हुन नसकेको गुनासो गर्दै यसपटक नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखेका थिए।
अलौ सिवान टोलमा भएको कार्यक्रमले रास्वपाप्रति बढ्दो आकर्षण र परिवर्तनको चाहना देखिएको स्थानीयको प्रतिक्रिया छ। निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको सन्दर्भमा प्रत्यक्ष जनसम्पर्क कार्यक्रमहरू थप सक्रिय भइरहेको देखिन्छ।

प्रतिक्रिया