श्रेणी : BANNER
वीरगंज, २ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले वीरगंज महानगरपालिका वडा नम्बर १७ अन्तर्गत अलौं क्षेत्रमा व्यापक जनसहभागितासहित घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उक्त कार्यक्रममा स्थानीय मतदाताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। घरदैलोका क्रममा उम्मेदवार यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हमा अत्यधिक मत दिएर विजयी गराउन मतदातासँग आग्रह गरिन्।
अलौंको सिवानटोलाबाट सुरु भएको घरदैलो कार्यक्रम बजारटोलासम्म पुगेको थियो। यस क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै यादवले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता जनाइन्। उनले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि कल्पना नगरेको विकास गर्ने दृढ संकल्प व्यक्त गरिन्।
उम्मेदवार यादवले आफू निर्वाचित भएमा महिला, दलित, आदिवासी जनजाति तथा पछाडि पारिएका सबै समुदायका हक–अधिकारका लागि प्रतिनिधिसभामा सशक्त रूपमा आवाज उठाउने बताइन्। “म चुनावका बेला मात्र देखिने उम्मेदवार होइन, जनतासँग सधैं रहने प्रतिनिधि बन्न चाहन्छु,” उनले भनिन्।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले दही खुवाएर, माला लगाइदिएर तथा ज्येष्ठ नागरिकहरूले आशीर्वाद दिँदै यादवको जितको कामना गरेका थिए। एक सहभागीले भने, “यसपालि हाम्रो भोट सूर्यलाई, हाम्रो नेता रिमा यादवलाई।”
कार्यक्रममा करिब पाँच सय मतदाताको सहभागिता रहेको जनाइएको छ। सो अवसरमा वडा नम्बर १७ का निर्वाचित वडाध्यक्ष सन्जु छ्त्कुली, वडा सदस्य शेष नेसार अहमद, अमोद यादवलगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया