श्रेणी : BANNER
वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मन्त्रिपरिषद धेरै ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले सबै ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
बर्खास्तीमा पर्ने राज्यमन्त्रीमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । मुख्यमन्त्री सिंहले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो । त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री थिए ।
२० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री छन् । अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्।
मन्त्रिपरिषदलाई अनावश्यक रुपमा ठूलो बनाएर राज्यस्रोतको दोहन मात्र गरेको भन्दै आलोचना भएको थियो । मधेश प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो ।
बर्खास्त गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई मंगलबार बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो । सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महर लगायतले पनि केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए । कालिका टाईम्स
प्रतिक्रिया